पुस्तक : दुर्गा काफ्लेको नसिब

साहित्यकार दुर्गाप्रसाद काफ्लेको कथा संगग्रह ‘नसिब’ हालै प्रकाशित भएको छ । उनी मोफसलमा बसेर लेख्ने साहित्यकारमध्येका हुन् । उदयपुरको बेलटारलाई कर्मथलो बनाएर उनी लेखिरहेका छन् । उनको लेखनका विधा नियात्रा र कथा हुन् । नसिब उनको दोस्रो कथा संग्रह हो । नसिब ओरियन्टल पब्लिकेसन हाउसले प्रकाशन गरेको हो । यस संग्रहमा १६ वटा कथाहरू छन् । पँहेलो हलुका कागजमा डिएमआई साइजमा यो पुस्तक छापिएको छ । 

सूर्य श्रेष्ठले बनाएको आवरण अमूर्त छ । पुस्तकमा १५४ पृष्ठ छन्, मूल्य २७५ रुपैयाँ छ । यस कथा संग्रहमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक तथा चर्चित समालोचक ज्ञानु अधिकारीले ‘गृहस्थी जीवनका संघर्षका कथा’ शीर्षकमा भूमिका लेखेकी छन् । यसैगरी भूमिका खण्डमै कथाकार काफ्लेको ‘आफ्नो भनाइ’ र प्रकाशक ओरियन्टल पब्लिकेसन हाउसको ‘प्रकाशकीय’ रहेको छ । 

यस संग्रहका कथाहरू ७ देखि १२ पृष्ठसम्मका छन् । यसको अर्थ यी कथाहरू एक बसाइमा पढिसकिने खालका छन् । कथा र उपन्यासको भिन्नता नै यहीबाट छुट्टिने हो । ‘कथा एक बसाइमा पढिसकिने खालका हुनुपर्छ’ एडगर एलेन पोले भनेका छन् । त्यसयता धेरै विद्वानहरूले एक बसाइको परिभाषा र समयावधिका विषयमा विवाद गर्ने गरेका छन् । यसको निर्णायक समाधान पनि उनीहरूबाटै निस्किएको छ । एक बसाइ भनेको एक पटकको ध्यान भंग नहुन्जेलसम्मको समय हो । अथवा कथा पढ्ने मनस्थिति तयार पारेर बसेपछि त्यो ध्यान भंग नहुन्जेलसम्मको समय एक बसाइ हो । यो समयावधि १० देखि १५ मिनेटसम्मको हुन्छ । दुर्गाका कथाहरू यही खालका छन् । 

उपन्यास एक बसाइमा पढिसकिँदैन । उपन्यास र कथामा धेरै कुरामा समानता पाइन्छन् तर केही सामान्य कुराले यी दुईबीच भिन्नता खडा गरिदिएको छ । कथानक, पात्र वा चरित्र, परिवेश वा वातावरण, भाषाशैली र सन्देश यी दुवैमा हुन्छन् । यी कथा र उपन्यास दुवैका साझा तŒव हुन् । यति भएर पनि कथाले सीमित पात्रका सीमित पक्षको चित्रण गर्छ भने उपन्यासले असिमित पात्रको असिमित पक्षको चित्रण गर्छ । कथा उपन्यासको एउटा खण्ड होइन । उपन्यासलाई छोट्याएर कथा बन्दैन र कथालाई लम्ब्याएर उपन्यास बनाउँन सकिँदैन । यिनका आआफ्नै खालका मापदण्ड छन् । कथा सानो भएर पनि आफैँमा पूर्ण हुन्छ । 

कथा र उपन्यास कागती र भोगटे जस्तै हुन् । कागती भोगटेको एउटा केस्रो होइन र धेरै वटा कागतीलाई पोको पारेर भोगटे बनाएको पनि होइन । यिनको जात भने एउटै हो । यस्तै हुन् कथा र उपन्यास । एडगर एलेन पोको एक बसाइको व्याख्यामा उनका उत्तरवर्ती साहित्यकारहरूले निकै शब्द खर्चेका छन् । कसैले यसलाई ५० मिनेट, कसैले ३० मिनेट र कसैले १५ मिनेटको समय निर्धारण गरे । अन्त्यतः एक बसाइ भनेको एक पटकको एकाग्रता भंग नहुनजेलसम्मको समय हो भनियो । यसैले एक बसाइलाई समयसीमामा बाँध्न सकिएन । 

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले कथाको परिभाषा गर्ने क्रममा, ‘कथा भनेको एउटा सानो झ्याल हो जसबाट एउटा सानो संसार चियाइन्छ । यो पनि एउटा संसार हो र महान् संसार हो’ भनेका छन् । उनको परिभाषाको असीमित व्याख्या गर्न सकिन्छ तर यहाँ त्यो सन्दर्भ होइन । 

सन्दर्भ हो दुर्गाको नसिब कथाको । यस कथासंग्रहमा १६ वटा कथाहरू छन् । यी सबै कथा मानसिक एकाग्रता कायम गरेर बस्ने हो भने एकै बसाइमा पढिसकिने खालका छन् । यहाँका कथाहरू ७ पृष्ठदेखि १२ पृष्ठसम्मका छन् । जसरी कथाहरू छोटा र मध्य आयामका छन् त्यसैगरी कथाका शीर्षकहरू पनि छोटा र मध्यम आयामका छन् । एक शब्ददेखि तीन शब्दसम्मका छन् यस संग्रहका कथाका शीर्षक । 

संग्रहमा एक शब्दका शीर्षकहरू आठवटा छन् । रडाको, संयुक्तपरिवार, संघर्ष, अनुहार, अन्तर्सम्बन्ध, नसिब, सहायता र मेला एक शब्दका शीर्षक हुन् । ‘नसिब’ यो संग्रहको शीर्ष कथा हो । कथाकारले यो कथाको शीर्षक आगन्तुक शब्द ‘नसिब’ नभनेर यसको सट्टामा ‘भाग्य’ वा ‘कर्म’ जस्ता नेपाली शब्दै राखेका भए अझै राम्रो हुन्थ्यो । 

यसैगरी यस संग्रहमा दुई शब्दका पाँचवटा शीर्षक रहेका छन् । शंकालु नजर, परिवर्तनका मुहार, तुहिएका आशाहरू, विवेकहीन परिवार र विनाशको बाटो दुई शब्दका शीर्षक भएका कथाहरू हुन् । यस संग्रहमा तीन शब्दका शीर्षक भएका कथाहरू तीनवटा छन् । को हुन् पुण्डरीकाक्ष, त्यो दिन आएन र को थिए ऋषभदेव तीन शब्दको शीर्षक भएका कथाहरू हुन् । 

दुर्गाको ‘नसिब’ समालोचक तथा भूमिका लेखक ज्ञानु अधिकारीले भनेझैँ गृहस्थीजीवनका संघर्णकै कथा हुन् । यति मात्र होइन उनका कथा गरिबीका कथा पनि हुन् । नेपालको संविधानले आरक्षणको व्यवस्था गरेका वर्गका हकहितका कुरा यस संग्रहमा दुर्गाले उठाएका छन् । उनले महिला, दलित र जनजातिहरूका पक्षबाट यस संग्रहका काथाहरूका माध्यमबाट आवाज उठाएका छन् । यहाँका अधिकांश कथाले ग्रमीण जनजीवनको सग्लो चित्र प्रस्तुत गरेका छन् । 

नेपालका अधिकांश परिवार गरिबीबाट गुज्रिरहेका छन् । उनीहरू बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेकोे छ । यस सन्दर्भमा कतिले त आफ्नो भएको सम्पत्ति पनि समाप्त पारेको तर विदेश जान नपाएको अवस्था छ भने कति विदेशसम्म पुगेर पनि रित्तो हात फर्किनु परेको अवस्था पनि छ । यतिमात्र होइन कतिको मृत शरीरमात्र फर्किएको अवस्था पनि छ । यस्तै कुराहरूको उजागर दुर्गाका कथाहरूले गरेका छन् । 

मोफसलमा बसेर लेखनमै समर्पित भइरहेका लेखक हुन् दुर्गा काफ्ले । हाल उनी सेवा निवृत्त जीवन यापनका क्रममा छन् । पहिले नलेखेका दुर्गाले यो निवृत्त जीवनमा एउटा नियात्रा संग्रह र दुईवटा कथा संग्रह प्रकाशन गरिसकेका छन् । उनी नेपाली लेखक संघको उदयपुर शाखा सम्बद्ध छन् । उनको लेखन यही रप्mतारमा अगाडि बढिरहोस्, शुभकामना ।