भारत := भारतका विभिन्न राज्यमा हालै सम्पन्न भएको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा भारतीय राजनीतिमा निकै ठूलो परिवर्तन देखापरेको छ । विशेषगरी पश्चिम बंगाल, तमिलनाडु, केरला, असम र पुदुच्चेरीको चुनावी नतिजाले नयाँ सन्देश दिएको छ । यी सबै राज्यमध्ये सबैभन्दा धेरै चर्चा र चासोको केन्द्रमा पश्चिम बंगाल रहेको छ । वर्षौंदेखि भारतीय जनता पार्टीलाई आफ्नो राज्यमा छिर्न नदिएको पश्चिम बंगाल अन्ततः भाजपाको पोल्टामा पुगेको छ । लगातार १५ वर्षदेखि एकछत्र शासन गरिरहेकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस यसपटक नराम्ररी पराजित हुने निश्चित भएको छ ।
करिब १० करोडभन्दा बढी जनसंख्या भएको पश्चिम बंगाल युरोपको शक्तिशाली देश जर्मनीभन्दा पनि ठूलो छ । त्यसैले यहाँको चुनावलाई एउटा राज्यको चुनावभन्दा पनि सिंगै देशको सरकार छान्ने प्रक्रिया जत्तिकै महत्त्वपूर्ण मानिन्छ । पश्चिम बंगालको २९४ सिट भएको विधानसभामा सरकार बनाउन कम्तीमा १४८ सिट आवश्यक पर्छ । तर, अहिले बाहिर आएको सुरुवाती नतिजाअनुसार भाजपा १९१ सिटमा अगाडि देखिएको छ भने ममताको पार्टी तृणमूल कंग्रेस जम्मा ९६ सिटमा खुम्चिएको छ । यो नतिजालाई प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे शासनकालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण सफलताको रूपमा हेरिएको छ ।
पश्चिम बंगालमा एउटै पार्टीले लामो समयसम्म शासन चलाउने पुरानै चलन हो । यहाँ कम्युनिष्ट पार्टीले लगातार ३४ वर्ष शासन गरेको थियो । त्यसपछि सन् २०११ मा ममता बनर्जीले कम्युनिष्टको त्यो बलियो किल्ला भत्काएर आफ्नो सत्ता सुरु गर्नुभएको थियो । बंगाली समाज सधैँ आफ्नो छुट्टै भाषा र संस्कृतिमा गर्व गर्ने भएकाले हिन्दी भाषी क्षेत्रमा प्रभाव जमाएको भाजपालाई त्यहाँ पस्न निकै गाह्रो भएको थियो । राजनीतिक विश्लेषकहरू यो नतिजालाई रातारात भएको जादु मान्दैनन् । उनीहरूका अनुसार यो भाजपाको दशकौँ लामो कडा मेहनतको फल हो । अघिल्ला तीनवटा चुनावहरूमा पनि भाजपाले करिब ३९ प्रतिशत भोट ल्याउँदै आएको थियो । यसपटक उसले त्यसमा ५ देखि ६ प्रतिशत भोट थपेर ४४ प्रतिशतभन्दा बढी पुर्याएको छ । थोरै भोट बढ्दा पनि सिट संख्यामा भने यसले ठूलो अन्तर ल्याइदियो ।
ममता बनर्जीको हारका पछाडि धेरै कारणहरू जोडिएका छन् । सुरुवाती दिनमा ममताले महिला र मुस्लिम मतदातालाई लक्षित गरेर धेरै राम्रा कल्याणकारी योजनाहरू ल्याउनुभएको थियो । विशेषगरी नगद दिने र महिलालाई सुविधा दिने योजनाले गर्दा महिलाहरू उहाँको पार्टीको मेरुदण्ड बनेका थिए । पश्चिम बंगालमा करिब २७ प्रतिशत मुस्लिम जनसंख्या छ, जसले ममतालाई नै भोट दिँदै आएको थियो । तर, विस्तारै राज्यमा कुशासन, भ्रष्टाचार र गुण्डागर्दी मौलाउँदै गयो । शिक्षक भर्ना घोटाला जस्ता ठूला काण्डहरूले जनतामा निराशा छायो । पछिल्लो समय आरजी कर अस्पतालमा भएको महिला डाक्टरमाथिको बलात्कार र हत्याको घटनामा सरकारले राम्रो कदम नचालेको भन्दै जनता झनै रुष्ट भए । मानिसहरूले सरकारले दिएको सुविधालाई नियमित प्रक्रियाको रूपमा लिन थाले भने भाजपाले त्योभन्दा दोब्बर सुविधा दिने वाचा गर्यो ।
ADVERTISEMENT
अर्कोतर्फ चुनाव हुनुभन्दा अगाडि करिब ३० लाख मतदाताको नाम नामावलीबाट हटाइएको थियो । चुनाव आयोगले नक्कली वा अयोग्य नाम हटाएको भने पनि विपक्षीहरूले गरिब र अल्पसंख्यक मतदातालाई जानीजानी भोट हाल्नबाट वञ्चित गरिएको आरोप लगाएका थिए । यी सबै विवादबीच भाजपाले निकै आक्रामक प्रचार गर्यो । हिन्दू मतलाई आफ्नो पक्षमा एकजुट गराउन भाजपा सफल भयो । यो जितको मुख्य श्रेय भारतका गृहमन्त्री अमित शाहलाई दिइएको छ । उहाँले बनाएको रणनीति सफल भएको हुँदा अब भाजपाभित्र उनको पकड झनै बलियो हुनेछ । यसले योगी आदित्यनाथ, नितिन गडकरी जस्ता नेताहरूलाई पछि पार्दै भविष्यमा प्रधानमन्त्री मोदीको उत्तराधिकारीको रूपमा अमित शाहलाई नै अगाडि बढाउने सम्भावना बढेको छ ।
पश्चिम बंगालबाहेक दक्षिण भारतको तमिलनाडुमा पनि सबैलाई चकित पार्ने नतिजा आएको छ । त्यहाँ मुख्यमन्त्री एमके स्टालिनको पार्टी डिएमकेलाई हराउँदै चर्चित चलचित्र अभिनेता थलपति विजयको नयाँ पार्टी टिभिकेले तहल्का मच्चाएको छ । विजयको पार्टी १०९ सिटमा अगाडि छ भने सत्तारूढ पार्टी डिएमके जम्मा ४८ सिटमा सीमित भएको छ । यो नतिजाले तमिलनाडुमा फेरि एकपटक चलचित्रका नायकहरूले राजनीतिमा राज गर्ने पुरानो परम्परालाई फर्काएको छ । त्यसैगरी, केरलामा पनि ठूलो राजनीतिक परिवर्तन भएको छ ।
भारतभरि बचेको एक मात्र कम्युनिष्ट सरकार त्यहाँ ढलेको छ। लगातार दुई कार्यकालसम्म चलेको कम्युनिष्ट गठबन्धन एलडिएफलाई हराउँदै कंग्रेस नेतृत्वको गठबन्धन युडिएफले बहुमत ल्याउने पक्का भएको छ । चुनावमा युडिएफ ९८ सिटमा अगाडि छ भने कम्युनिष्ट गठबन्धन जम्मा ४० सिटमा खुम्चिएको छ । असम र पुदुच्चेरीमा भने खासै ठूलो परिवर्तन देखिएन । असममा भारतीय जनता पार्टीले सत्ताविरोधी भावनालाई चिर्दै आफ्नो सरकार बचाउन सफल भएको छ । त्यहाँ भाजपा गठबन्धन ९८ सिटमा अगाडि छ भने कंग्रेस जम्मा २५ सिटमा छ । यस्तै, सानो केन्द्रशासित प्रदेश पुदुच्चेरीमा पनि भाजपा र उसको सहयोगी दलले नै आफ्नो सत्ता कायम राखेका छन् । एजेन्सीको सहयोगमा




















