भरतपुर । पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको खवर प्राप्त भएको छ । झुन्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीको प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ ।
यसैबीच न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको समर्थनमा भिड उर्लिएको छ । जसका कारण सत्य तथ्य छानविनमासमेत समस्या भइरहेको अनुसन्धानकर्मीले बताइरहेका छन् । पत्रकार लामिछानेका पक्ष तथा विपक्षमा समेत विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।
झुन्डिएको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ ।
२० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेको थियो ।
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन पुगिसकेका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन पुगेका हुन् ।
अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए । टोलीले आइतबारदेखि नै काम सुरु गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उनले भने, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।




















