
बालकृष्ण दाहालद्वारा सम्पादित कृति ‘प्रेरक अभियन्ता भुवन’ हालै प्रकाशित भएको छ । यो समाजसेवी भुवन गिरीबारे लेखिएको कृति हो । यस पुस्तकमा भुवनका साथी, अग्रज र अनुजहरूका उनीबारेका ७५ वटा लेख छन् ।
यस पुस्तकका सम्पादक बालकृष्ण दाहाल मूलरूपमा राजनीतिज्ञ हुन् । उनी नेपाली कांग्रेस सम्बद्ध छन् । यसका साथै उनी लेखन कार्य पनि गर्दै आइरहेका छन् । उनका अहिलेसम्म मौलिक र सम्पादित गरी पाँचवटा पुस्तक प्रकाशित छन् । ओखलढुंगाका पाँच अमर सहिद शीर्षकको पुस्तक उनको मौलिक लेखन हो । यसपछिका ‘सहिद लीला यशोदा स्मृतिग्रन्थ’, ‘प्रजातन्त्र सेनानी’, ‘मिना दिदी’ र यो ‘प्रेरक अभियन्ता भुवन’ उनका सम्पादित पुस्तक हुन् ।
यस पुस्तकको प्रकाशन नारी जागृति समाजले गरेको छ । नारी जागृति समाज बुढानीलकण्ठ नगरपालिका–१२ का सक्रिय नारीहरूद्वारा स्थापित सामाजिक संस्था हो । यो संस्थाले स्थापनाको छोटो अवधिमै स्वास्थ्य शिविर सञ्चालन, उद्घोषण तालिम, रक्तदान कार्यक्रम सञ्चालनजस्ता विभिन्न सामाजसेवी कार्यहरू सम्पन्न्न गरेको छ । यही संस्थाले यसपटक यो पुस्तक प्रकाशनको जिम्मेवारी लिएको पाइएको छ ।
प्रकाशक नारी जागृति समाजका तर्फबाट महिला सशक्तीकरणमा योगदान पु¥याएका अभियन्ताहरूप्रति समर्पण व्यक्त गरेर थालनी गरिएको यस पुस्तकमा राष्ट्रकवि माधव घिमिरेको ‘शुभ आशिष’ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाली कांगे्रसका नेता शेखर कोइराला, मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक अध्यक्ष मृगेन्द्रराज पाण्डे, सिर्जना कला गुठीका अध्यक्ष उर्मिला गर्ग उपाध्याय र संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङका शुभकामनाहरू रहेका छन् । गुरुङले आप्mनो शुभकामना मन्तव्यमा ‘कर्मशील जीवनको गतिशील पाइला’ भनेकी छन् । पुस्तकको भूमिकामा पशुपति बहुमुखी क्याम्पसका प्राचार्य प्रयागराज भट्टराई ‘वाशिष्ठ’ को ‘प्रेरक अभियन्ता भुवन ग्रन्थको प्रेरणादायी सन्देश’ रहेको छ । यसपछि सम्पादक बालकृष्ण दाहालको आप्mनै भनाइ र अन्त्यमा प्रकाशक नारी जागृति समाजको प्रकाशकीय रहेको छ ।
यो पुस्तक ६०+२१५ पृष्ठको छ र यसको मूल्य ५०० रुपैयाँ रहेको छ । स्तरीय डिएमआई आकारमा प्रकाशित पुस्तकको छपाई स्तरीय नै देखिन्छ । केही अशुद्धिहरू छुटेका पाइन्छन् ।
आवरणमा अभियन्ता भुवन गिरीको फोटो राखिएको छ । अग्रभागबाहेक पृष्ठ २१५ मा पुस्तकको पाठ्यसामग्री वा भाग समाप्त भएको छ र त्यसभन्दा पछाडि अभियन्ता भुवनसँग सम्बन्धित विभिन्न प्रसंगका फोटा तथा प्रमाणपत्रहरू दिइएका छन् ।
पुस्तकको खण्ड ‘क’ मा केही चिनिएका र धेरैजसो नचिनिएका व्यक्तिहरूका भुवनबारेका लेखहरू प्रकाशित भएका छन् । यस्ता लेखहरूका विषय सामान्य छन् तर तिनले उठाएका कुरा गम्भीर पनि छन् । हाम्रा दैनिक जीवनमा उपयोगी हुने खालका विषय लेखमा छनोट भएका छन् । भुवन विविध विषयको जानकार व्यक्तिका रूपमा देखिन्छन् । महिलाहरूलाई आत्मनिर्भरतातर्फ प्रेरित गर्ने क्रममा विभिन्न समयमा विभिन्न महिलाहरूलाई सीपमूलक र स्वावलम्बी बनाउनेतर्फको प्रयासमा उनले यस्ता अभियानहरू चलाएको थाहा पाइन्छ । उनका यस्ता अभियानबाट धेरै महिलाहरू लाभान्वित हुन पुगेका छन् भन्ने जानकारी पनि पुस्तकका लेखहरूबाट थाहा हुन्छ ।
हेर्दा साना मसिना देखिने अचार बनाउने, मिठाई बनाउने, खेलौना बनाउने, टपरी गाँस्न सिकाउने सिलाइ, कटाइ, बुनाइका कामहरू सिकाउनेजस्ता अभियान भुवनले चलाएर धेरै महिलाहरूलाई सक्षम बनाएकी रहिछन् ।
यसरी भुवनको अभियान नारीकेन्द्रित रहेको देखिन्छ । नारीहरूले नै घर चलाउनुपर्ने भएका कारण उनले नारीहरूलाई आत्मनिर्भर बनाउने अभियान चलाएकी हुन सक्छिन् । उनको लामो समयसम्मको यो अभियानबाट सयौं महिलाहरू स्वाभिमानी बनेको संकेत यस पुस्तकका लेखहरूबाट थाहा हुन्छ । उनले गरिब तथा असहायहरूका हितका कामहरू पनि गरेकी छन् । एकल महिला, घरेलु कामदार जसले आप्mना बालबच्चाहरूलाई पढाउन नसकिरहेका अवस्थामा अभियन्ता भुवनको सहयोगमा विद्यालय पठाउन सकेको कुराको खुलासा पनि पुस्तकमा समेटिएका लेख रचनाहरूबाट भएको पाइन्छ ।
पुस्तकमा भुवलाई नजिकबाट राम्ररी चिन्ने व्यक्तिहरू, उनलाई पढाएका शिक्षक शिक्षिकाहरू, उनका समकालीन साथीसंगीहरू, जागिरका क्रममा भेटिएकाहरू, उनीबाट विभिन्न खालका घरेलु इलम सिकेका व्यक्तिहरू, उनीबाट विभिन्न प्रकारका सहयोग पाएका व्यक्तिहरू लगायतका व्यक्तिका लेखरचनाहरू प्रकाशित भएका छन् । यस्ता व्यक्तिहरूमा केही राष्ट्रियस्तरका राजनीतिज्ञ, प्राज्ञ, प्राध्यापक तथा शिक्षक, समाजसेवीहरू पनि छन् । धेरैजसो भुवन गिरीबाट सीप सिकेका र सहयोग पाएका व्यक्तिहरू छन् । दीपकुमार उपाध्याय, अम्बिका बस्नेत, भद्रकुमारी घले, ठाकुरप्रसाद मैनाली, प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, प्रा. अंगुरबाबा जोशी, भीमबहादुर अधिकारी, प्रा. रमा शर्मा, प्राडा.कृष्णप्रसाद दाहाल, जलेश्वरी श्रेष्ठ, पद्यमासना शाक्य, रामवदन जोशी लगायतका चर्चित व्यक्तिका भुवनबारेका लेख रचनाहरू पनि रहेका छन् । यिनले गर्दा समाजसेवी भुवनको उचाइ अझै बढेको अनुभूति हुन्छ । अरू पनि केही आप्mनो क्षेत्रका विज्ञ र चर्चा पाउन सफल व्यक्तिहरूका लेख रचनाहरू पनि यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा समेटिएका अन्य अधिकांश लेखहरू भुवन गिरीका सेरोफेरोमा घुमेका व्यक्तिहरूका स्तम्भ रहेका छन् । यसले गर्दा राष्ट्रियस्तरका व्यक्तिलाई भन्दा उनीहरूलाई भुवनबारे धेरै कुराको जानकारी हुने भएको हुनाले यस्ता कुराहरू बढी समेटिन पाएका छन् ।
पुस्तकको खण्ड ‘ख’ मा समाजसेवी भुवन गिरीसँग सम्बन्धित विभिन्न तस्वीर, प्रमाणपत्र, सम्मानपत्रलगायत उनीसँग सम्बन्धित महŒवपूर्ण सामग्रीहरू समेटिएका छन् । त्यसपछि भुवन गिरीको व्यक्तिगत विवरण दिइएको छ । यसको केही अंश नेपालीमा छ र अधिकांश अंश अंग्रेजीमा दिइएको छ । यो सिंगो पुस्तक नेपालीमा छापिएको हुँदा उनको यो व्यक्तिगत विवरण पनि नेपालीमै दिइको भए उपयुक्त हुन्थ्यो । पुस्तकको अन्त्यमा पुस्तकका सम्पादक बालकृष्ण दाहालको परिचय दिइएको छ । पुस्तकको अन्तिम आवरण पृष्ठमा अगाडि भूमिका लेखकहरूका भनाइबाट उद्धृत गरिएका महŒवपूर्ण भनाइहरू समेटिएको पाइन्छ जसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, दीपकुमार उपाध्याय, भद्रकुमारी घले, ठाकुरप्रसाद मैनाली र अंगुरबाबा जोशी रहेका छन् ।
हालका दिनहरूमा केही राजनीतिज्ञ र समाजसेवीहरूका यस प्रकारका पुस्तकहरू प्रकाशनको लहर चलेको पाइन्छ । यही लहरमा पर्न आइपुगेकी छन् समाजसेवी भुवन गिरी र यसको माध्यम बनेका छन् बालकृष्ण दाहाल । यसरी सम्पादक दाहाल र भुवन गिरी दुवैजना बधाईका पात्र बन्न पुगेका छन् । भुवनबारे जान्न चाहनेहरूका लागि यो पुस्तक पठनीय र संग्रहणीय छ ।




















