नेपाली चलचित्रहरू प्रदर्शन हुने दशैं, तिहार र तीजजस्ता ठूलो पर्ववाहेक अन्य कुनै पनि समयका लागि शुक्रबार कुर्नुपर्ने नियम छ । यसअघि यही नियमअनुसार नेपाली चलचित्र प्रदर्शन हुँदै आएका छन् । तर बिदेशी चलचित्र भने विदेशमा जुन समयमा प्रदर्शन हुन्छन् त्यही समयमा नेपालमा पनि हुने गरेका छन् ।
केही समय अघि नेपाली चलचित्रसँगै बिदेशी चलचित्र पनि प्रदर्शनमा आउनुपर्छ भन्ने माग नेपाली निर्माताहरूले उठाउँदै आएका थिए । तर यो माग पूरा भएको छैन । तर नेपाली चलचित्र ‘हजार जुनीसम्म’ भने बिहीबारबाटै प्रदर्शनमा आयो । रक्षा बन्धनको अवसर पारेर दुई विदेशी चलचित्रसँगै यो चलचित्र पनि देशभर प्रदर्शनमा आएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पनि यसअघि विदेशी चलचित्र पनि शुक्रबारै प्रदर्शनमा आउनुपर्छ भनी आवाज उठाएका थिए । तर अझै यो कुरा लागू हुन नसक्दा नेपाली चलचित्र हजार जुनीसम्म कसरी बिहीबार प्रदर्शन भयो भन्ने अन्य निर्माताहरूको आक्रोश पनि छ ।
बोर्ड अध्यक्ष भट्टराईका अनुसार विदेशी चलचित्रलाई बिहीबार प्रदर्शन हुनबाट रोक्न कुनै कानुन भएको बताउँछन् । ‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको व्यावसायिक लाभ उठाउने उद्देश्यले बिहीबार (साउन ३०) प्रदर्शनमा आएको हो । सरकारले यस वर्ष जनै पूर्णिमाको विदा दिएको छैन । धेरै पहिले यो मिति प्रदर्शन मितिको रूपमा प्रचार गरिएकाले पनि फिल्म आजै रिलिज भएको हुनसक्छ ।
गीतसंगीत र ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, प्रियंका कार्कीलगायत कलाकारको अभिनय छ ।
फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् । फिल्मले सिंगल थियटरमा कल प्रदर्शन पाएपनि मल्टिप्लेक्समा भने बलिउडका दुई ठूला ‘मिशन मंगल’ र ‘बाटला हाउस’सँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
यससँगै अन्य साना चाडपर्वमा अन्य नेपाली चलचित्रका निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न तम्सिने निश्चत छ । यसको ठोस कानुन नहुँदा अझै पनि कतिपय चलचित्रका निर्माताहरू मारमा परेको देखिन्छ ।




















