उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि

काठमाडौं । काठमाडौं उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५ सय ६६ विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । 

जसमा काठमाडौंमा दुई हजार ३ सय ३८, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ५२ जनाविरुद्ध मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । 

उपत्यकामा आव २०७४÷७५ मा ४ सय ८७ र आव २०७३÷७४ मा दश जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । 

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताए । उनले भने, ‘पहिला सहमतिमा कारोबार ग¥यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ ।’

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हकअन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो । 

मुलुकभर आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार ६ सय २० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै, आव २०७४÷७५ मा ७ सय ७६ र आव २०७३÷७४ मा ९३ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।