काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा काली बूढीको उपनामबाट चिनिएकी कलाकार शारदा गिरी काठमाडौंकै बासिन्दा हुन् । काठमाडौंको कलंकीमा घर भएकी शारदा तीन दशकअघि झुक्किएरै फिल्मी क्षेत्रमा प्रवेश गरिन् । तीस वर्षअघि नै श्रीमान्को मृत्यु भएको बताउने शारदाले जिन्दगीसँग हार नमानी सन्तान हुर्काउँदै कलाकारितालाई अगाडि बढाएको बताउँछिन् ।
तीन दशकअघिदेखि नै चलचित्रमा अभिनय गर्न थालेकी शारदाले जब चलचित्र ‘वडा नम्बर’मा माग्ने बूढाकी आमाको रूपमा देखिइन् त्यसपछि धेरै दर्शकले चिन्ने मौका पाए । अझ त्यसपछि ‘छक्का पञ्जा’ चलचित्रको सिरिजमा देखिन थालेपछि तीन करोड नेपालीकै आमा भएर माया पाएको उनी बताउँछिन् ।
दर्शकले उनलाई काली बूढी भनेर चिन्छन् । चलचित्रमा केदार घिमिरे (माग्ने बूढा)ले काली बूढी भनेर सम्बोधन गर्ने भएकाले उनको उपनाम काली बूढी भएको छ । दर्शकले मायाले काली बूढीभन्दा खुशी लागेको उनी बताउँछिन् । यसैबीच उनीसँग हिमालय टाइम्सका गोपीकृष्ण चापागाईंले फिल्मी कुराकानी गरेका छन् ।
तपार्इंलाई काली बूढी भनेरै चिन्छन्, मन दुख्दैन ?
यो नाम माग्ने बूढा अर्थात् केदार घिमिरेले चलचित्र वडा नम्बर ६ बाट राखिदिनुभएको नाम हो । उहाँले तपाईंलाई काली बूढी भन्छु है भन्नुभएको थियो, मैले हुन्छ भने । त्यसपछि सबैले मलाई काली बूढी भनेरै बोलाउन थाले । दर्शकले पनि त्यही नामबाट चिन्न थाल्नुभयो । लाखौं दर्शक मायाले होला काली बूढी भनेर माया गर्नुहुन्छ भने किन मन दुखाउनु ? मलाई त खुशी लाग्छ ।
अहिले चलचित्रमा कत्तिको व्यस्त हुनुहुन्छ ?
जब म छक्का पञ्जा चलचित्रको टिम अर्थात् दीपकराज गिरी र दीपाश्री निरौलालगायतको टिमसँग सहकार्य गर्न पाएँ । त्यसपछि मलाई धेरै चलचित्रले अफर आउने गरेका छन् । खुशी लाग्छ । छक्का पञ्जा टिमलाई धेरै धन्यवाद दिन चाहन्छु । उहाँकै कारण आज यहाँसम्म छु । केही दिन भयो चलचित्र ‘अधुरो प्रेम कहानी’को सुटिङमा व्यस्त छु ।
आफूलाई चिनाउने चलचित्र कुन मान्नु हुन्छ ?
आफूले काम गरेका सबैजसो चलचित्र राम्रा छन् तर दर्शकले बढी चिनेको र फड्को मारेको भन्नुपर्दा छक्का पञ्जा नै हो । त्योभन्दा अघिको वडा नम्बर ६ बाट केही मात्रामा चिनिए तापनि छक्का पञ्जाबाट अत्यधिक दर्शकले चिन्नुभयो । यो चलचित्रले मेरो पहिचान बनाइदियो ।
फिल्मी क्षेत्रबाट कुनै मन दुःखेको क्षण छ ?
सबै दर्शकले माया गर्नुहुन्छ त्यो नै मेरोलागी सबैभन्दा ठूलो कुरा हो । तर फिल्मी क्षेत्रमा काम गर्नेहरूको मूल्यांकन गर्दै धेरै अवार्ड आयोजना हुने गर्छन् । हालसम्म मलाई कुनै पनि अवार्ड मिलेको छैन । मेलो योग्यता नपुगेको हो भने त मूल्यांकन होस् तर अवार्ड पनि बिक्ने गर्छ रे भन्ने सुनेको छु । सायद त्यही कारणले नपाएको होकि ? छक्का पञ्जा चलचित्र निकै हिट भयो सबैजसो कलाकारहरूले अवार्ड पाउनुभयो तर मैलो पाउन सकिन । त्यसैले मनमा लागेको कुरा राखेकी हू्ँ ।
घरपरिवारमा फिल्मी क्षेत्रमा काम गर्न कत्तिको साथ दिनुहुन्छ ?
अहिले घरमा छोराबुहारी, छोरी सबैले साथ दिएका छन् । घर व्यवहार मैले हेर्नुपर्दैन । म दिनहूँजसो सुटिङमै व्यस्त हुन्छु । छोराछोरीले फिल्ममा काम गर्नुस् भन्छन् यही नै खुशीको कुरा हो । कतिपय कलाकारहरूको समाचारहरू सुनिन्छ घरबाट सपोर्ट मिलेन भन्ने तर मेरो पहिलादेखि नै घरमा सबैले सपोर्ट गर्नुहुन्छ ।




















