दूध उत्पादक किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । अहिले किसानले बेचिरहेको मूल्य दुई वर्षअघिको हो । दुई वर्षमा आहार, मजदुरको तलब, ढुवानी खर्चलगायतको वृद्धिले दूध उत्पादनको खर्च बढेको छ । दूध उत्पादन नबढेको होइन तर त्यसले माग धान्दैन । सुख्खा मौसममा उत्पादन घट्छ । मागअनुसार आपूर्तिका लागि धूलो दूध प्रयोग हुने गरेको छ । धूलो दूध उत्पादन गर्ने स्वदेशी कारखाना तीन वटा छन् । यी कारखानाले माग पूरा गर्न सकेका छैनन् । भारतबाट आयत हुने गरेको छ ।
नेपाल दूधमा आत्मनिर्भर बन्ने क्रममा छ तर भइसकेको छैन । करिब साढे चार लाख कृषक परिवार दूध उत्पादनमा आबद्ध छन् । दूध उद्योगमा २० हजारभन्दा बढीले रोजगारी पाएका छन् । प्रतिव्यक्ति वार्षिक खपत करिब ७० लिटर छ । एकातिर सुख्खा मौसममा मागअनुसार दूध आपूर्ति हुन सकेको छैन, अर्कातिर किसानबाट सबै दूध खरिद गर्न सकेर डेरी उद्योगहरुले ‘मिल्क होलिडे’ गर्ने गरेका छन् । ‘मिल्क होलिडे’ का कारण किसानले घाटा बेहोर्नु परेको छ । सडकमा दूध पोखेर विरोध जनाउने गरेका छन् ।
नेपाली उद्योगको धूलो दूध भारतीयको तुलनामा महँगो छ । दूध प्रशोधन गर्ने डेरी उद्योगले भारतीय धूलो दूध नै बढी प्रयोग गर्छन् । नेपालीको तुलनामा सस्तो हुनु र नेपाली कारखानाले माग पूरा गर्न नसक्नु आयातको मुख्य कारण हो । हालै सरकारले भारतीय धूलो दूध आयातमा नियन्त्रण गरेपछि दूध आपूर्ति घटेको छ । धूलो दूधको अभावले कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको डेरी व्यवसायी संगठनका प्रतिनिधिहरुको भनाइ छ । बजारमा दूध अभाव हुन थाल्नुको मुख्य कारण धूलो दूध आयातमा नियन्त्रण नै हो ।
दूधमा वर्षैभरि आत्मनिर्भर हुने र दूध तथा दुग्ध पदार्थको खपत बढाउने हो भने धुलो दूध उत्पादन प्रोत्साहित गर्नु अनिवार्य छ । आवश्यकताअनुसार स्वदेशमै धुलो दूध तयार हुने भएपछि किसानले ‘मिल्क होलिडे’ को घाटा बेहोर्नु पर्दैन, विदेशी धुलो दूध आयात गर्नु पर्दैन, सुख्खा मौसममा पनि दूध आपूर्ति घट्दैन, निर्यात समेत हुनसक्छ । धुलो दूध महँगो हुन नदिन सरकारले सहुलियत दिने ठाउँहरु छन् । यसतर्फ विचार गर्नुपर्छ । यसो भएपछि किसानो उचित मूल्य पाउने छन् । समयानुकूल मूल्य समायोजन पनि हुँदै जानेछ ।



















