काठमाडौं । डिभिजन सडक कार्यालय पोखराका प्रमुख तथा इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको छ । टोलीले उनिहरुको साथबाट ९ लाख रुपैँयासहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्यलाई बिहिबार साँझ प्रमुखको क्वाटरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । बिन्ध्यवासिनी हरिचोक बाटो निर्माणको ठेक्का पाएको जिएमआर कम्पनीका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसादको क्वाटरमा गएका थिए । उनीहरुले झोलामा लगेको उक्त रकम हरि प्रसाद पोख्रेललाई बुझाएको र पोख्रेलले सो रकम राख्नका लागि आफ्ना भान्सेलाई दिएका थिए । उनका भान्सेले सो रकम लेखा अधिकृतका भान्सेलाई राख्न दिएको समयमा अख्तियारको टोलिले बिशेष सुचनाको आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेनमा भएको खुल्न आएको जनाइएको छ ।




















