बालुवाटारको सुविसु कार्यालयमा आगलागी

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूतावास नजिकको सुविसु कार्यालयमा आगलागी भएको छ ।

 महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिए । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उनले भने ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ । आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र प्रयोग गरिएको छ। प्रहरी र स्थानीय पनि आगो नियन्त्रणमा जुटिरहेका छन्।