कंचन यादवको हत्या भएको दाबी गर्दै प्रदर्शन

राजविराज ।    राजविराज नगरपालिका वडा नं. १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि शवसहित प्रदर्शन गरेका छन् ।

 माइती पक्षले प्रदर्शनका क्रममा घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माग गरेका छन् ।

    कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा आइतबार झुण्डिएको अवस्थामा फेला परेको थियो । आइतबार दिउँसो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको शव पोष्टमार्टमका लागि पठाइएको थियो । सोमबार बिहाने पोष्टमार्ट पश्चात् आफन्तजनले शव लिएर आएपछि राजविराजमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेका छन् ।

    कंचनलाई श्रीमान् पक्षले कुटपिट गर्दै मारेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको दाबी छ ।

    मृतकका दाजु राजेन्द्र यादवका अनुसार घटनाको प्रकृती तथा शरीर भरि भएको घाउ चोटका आधारमा हत्या नै भएको संकेत देखाएको तथा हत्यालाई आत्महत्या देखाउन मृतकका पति अरबिन्द यादव र सासु, ससुराले मिलोमतो गरि कंचनलाई पासो लगाएर झुण्ड्याएका हुन् ।

    राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि पछि गएर दुईबीचको सम्बन्ध चिसिदै गएको छिमेकीहरुको भनाइ छ ।

    केही दिन यता अरबिन्दको अर्कैै केटीसँग लसपस भएको र त्यो कुरा कंचनले चाल पाएपछि दुबैबीचको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरुले बताएका छन् ।

    “अर्कै केटीसँग प्रेममा फसेपछि उनैसँग विवाह गर्ने÷गराउने नियतले अरबिन्द र सासु, ससुराको मिलोमतोमा योजनाबद्ध ढंगले कंचनको हत्या भएको हो” दाजु राजेन्द्रको दाबी छ ।

    घटनापछि मृतकका सासु ससुरा फरार छन् भने प्रहरीले मृतकका पति अरबिन्दलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको डिएसपी भावेश रिमालले जानकारी दिए ।

    उनले अहिले नै हत्या वा आत्महत्या भनि सक्ने अवस्था नरहेको बताउँदै अरबिन्दलाई पक्राउ गरि बयान लिने काम भइरहेको जानकारी दिए । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकोले अनुसन्धान र पोष्टमार्टम रिपोर्टको अध्ययन लगत्तै सत्यतथ्य चाडै सार्वजनिक गर्ने जानकारी दिए ।