घाँटीमा धारिलो बस्तु प्रहार गरेर लुटेराले गहना लुटे

 बझाङ । अज्ञात समुहले एक जना महिलाको गहना लुटपाट गर्नुका साथै महिलालाई मार्ने प्रयास गरेका छन् । 

बझाङको थलारा गाँउपालिका वडा नम्बर ५ हाट घर भएकी दिनेश खत्रिको श्रीमती २२ बर्षिया विमला ओलीलाई अज्ञात समुहलेलुटपाट गर्नुका साथै ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

 सोमबार बेलुका केदास्युँ गाउँपालिका वडा नम्बर ९ माईतिभएकी ओली पाईली घर आउने क्रममा थलारा गाँउपालिका वडा नम्बर ३ को शिलाकोट भन्ने स्थानमा अज्ञात समुहले उनको गहना लुटपाट गर्नुका साथै मोबाईल समेत लिएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ । 

उनको घाँटीमा टिनको पाताले रेटेर मार्ने प्रयास गरिएको स्थानीयले जनाएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए ।

उनको साथमा रहेकी बहिनी १३ बर्षिया सलोचना ओलीलाई समेत घाईते बताएको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाण्डेको टोली खटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको र लुटपाट गर्नेको खोजीकार्य भइरहेको निरीक्षक पाण्डेले बताए । घाईते दुबै जनाो जिल्लामा उपचार सम्भव नभए पछि कोहलपुर रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको  छ ।