कुरा राजनीतिक संस्कारको

राजनीतिज्ञहरूमा पनि उच्च नैतिकता  आवश्यक पर्छ । सर्वसाधारण व्यक्तिले गल्ती गरे पनि राजनीतिज्ञमा भने उच्च नैतिकता हुनु पर्छ । राजनीतिज्ञले गल्ती गर्नु हुँदैन र गल्ती भए तत्काल जनतासामु माफी माग्नु राजनीतिज्ञको धर्म हो । तर, गल्ती ढाकछोप गर्दै अर्को गल्ती गर्ने परम्परा हामीकहाँ विकसित गरिएको हुनाले राजनीतिलाई फोहोरी खेलको रूपमा र पैसा कमाउने उद्योगको रूपमा विकसित गरिएको छ । जबसम्म त्यसमा सुधार हुँदैन तबसम्म मुलुकले सही रूपमा विकास निर्माणको बाटो समात्न सक्दैन । 

संघीय संसदको निर्वाचनपछि स्थानीय, प्रदेश र संघीय संसदमा निर्वाचित भएर आएका व्यक्तिहरूले आफ्नो परिवारको नाममा भएको सम्पत्तिको विवरण सम्बन्धित निकायलाई दिएका हुन्छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समेत आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण दिएका छन् । तर, अध्यक्ष दाहालले गर्ने गरेको विदेश भ्रमण र श्रीमतीको उपचार खर्चको व्यवस्था कहाँबाट कसरी मिलाएका छन् त्यसको हिसाब किताब पनि जनतालाई दिनुपर्ने हो । राजनीतिज्ञहरू आफैं पारदर्शी हुनुपर्ने हो । राजनेताले गर्ने व्यवहारबाटै जनताले सिक्ने हुन् । त्यसैले राजनेताहरू पहिला आफैं पारदर्शी भएर जनतामाझ आउनुपर्छ । केही दिन पहिला पुष्पकमल दाहालले आफूलाई हेग लगे आफू नेपालको मात्र होइन विश्वकै हिरो भएर आउने जस्तो गैरजिम्मेवारी अभिव्यक्ति दिएर आलोचनाका पात्र बनेका छन् । दश वर्षे सशस्त्र युद्धका नाममा झण्डै १७ हजार नागरिकको  ज्यान गएको छ । यसको जिम्मेवारी कसै न कसैले त लिनु पर्ने हो । आन्दोलनका बेला सर्वोच्च कमाण्डर रहेका दाहालले त्यो क्षतिको जिम्मेवारी लिनैपर्छ । कुनै बेला भारतसँग सुरुङ युद्ध लड्न आफ्ना कार्यकर्तालाई आदेश दिने तिनै दाहाल अहिले त्यही भारतप्रिय पात्र बन्नुले प्रमाणित गर्छ उनी कसको स्वार्थअनुरूप चलेका छन् । माओवादी आन्दोलनका बेला उनी लामो समयसम्म भारतमै बसेर त्यहीको सुरक्षा लिएका थिए । 

विश्वका धेरै मुलुकमा आन्तरिक द्वन्द्व भएका छन् । युद्धको बेला युद्धमा सहभागी नभएका व्यक्तिहरूमाथि आक्रमण गरिएको र हत्या गरिएको रहेछ भने त्यस्ता व्यक्तिहरू जहिलेसुकै पनि सजायभागी हुनसक्ने सम्भावना रहन्छ, त्यही सम्भावना देखेर अहिले नै दाहाल छटपटाउन थालेका हुन सक्छन् । त्यसैकारण उनी चर्को स्वर गर्न थालेका छन् । विश्वकै हिरो बनेर आउँछु भन्न थालेका छन् । सम्पूर्ण नेपाली जनताको हिरो बन्न त नसकिरहेका दाहालले अब विश्वको हिरो बन्ने सपना देख्नु उनको दृष्टिदोषबाहेक अरू केही होइन । 

आफूलाई सर्वहाराका नेता बताउनेहरूको जीवनशैली हेर्दा उनीहरू राजा महाराजाभन्दा कम देखिँदैनन् । आफैं पार्टीभित्रको विवाद मिलाउन नसक्ने र आफूहरूमाथि लाग्दै आएका आरोपका बारेमा जनतालाई पारदर्शी ढंगले जानकारी दिनसमेत नसक्ने व्यक्तिहरूले जनतालाई झुक्याउँदै आफू महान् व्यक्ति भएको र विश्वकै हिरो बन्न सक्छु भन्नु हुटिट्याउँले आकाश थाम्छु भन्नुशिवाय अरू केही हुन सक्दैन । 

कम्युनिष्ट पार्टीका नेताहरू र उनका परिवारहरूको जीवनशैली हेर्दा लाग्छ उनीहरू कम्युनिष्ट सिद्धान्तकै धज्जी उडाइरहेका छन् । पार्टी अध्यक्षका सबै परिवार कुनै न कुनै पदमा आसीन छन् । दाहालकी छोरी भरतपुर नगरपालिकाकी मेयर छिन् । मेयर रेणु दाहालले आफ्नो सवारीका लागि १ करोड ९६ लाखको गाडी खदिर गरेर भरतपुरवासीको आँखाको तारो बनेकी छन् । अध्यक्ष दाहाल जुन घरमा बसेका छन् त्यो घरका मालिकले अर्बौंको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्दासमेत उनीमाथि सरकारले कुनै कारबाही गर्न सकेको छैन । 

सरकारी ढुकुटीमा ब्रहृमलुट मच्चाउन सघाउने व्यक्तिलाई पनि हाम्रो कानुनले अपराधी भनेको छ । अपराधमा संलग्न हुनेलाई मात्र होइन सहयोग गर्नेलाई पनि कानुनी कारबाही हुने व्यवस्था कानुनमा उल्लेख गरिएकोमा किन उनीहरूमाथि कारबाही नहुने ? गरिब नेपाली जनताले तिरेको करमाथि ब्रहृमलुट मच्चाएर काम गर्ने अधिकार जनताले दिएका छैनन् । जनताले आफैंमाथि लाठी प्रहार गर भनेर हात काटेर मतदान गरेका होइनन् । त्यसैले अब राजनीतिज्ञ हौं भन्नेहरू सच्चिनु आवश्यक छ । साम्यवादको सपना देखाएर सरकारमा पुगेपछि आफ्नोमात्र दुनो सोझ्याउने प्रवृत्ति नसच्चिएसम्म देशको विकास सम्भव छैन, नेताहरूको मात्र र उनका परिवारहरूको मात्र विकास सम्भव छ । 

यी सबै कारणहरूले गर्दा र साँच्चिकै देश विकास गर्ने हो भने राजनीतिज्ञहरूको सोचविचार र चिन्तन सच्चिनु आवश्यक छ । मुलुक बिस्तारै परनिर्भरतातर्फ उन्मुख हुँदै गएको अवस्थामा आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गरी मुलुकलाई परनिर्भर हुनबाट जोगाउन आवश्यक छ । २०४५ सालसम्म नेपालले जापान र दक्षिण कोरियालाई चामल, धान निर्यात गर्दथ्यो आज यिनै राजनीतिज्ञका कारण हामी जापान र कोरियाबाट चामल आयत गरिरहेका छौं । अनि हाम्रा राजनीतिज्ञहरू देशले विकासको फड्को मार्दै छ भन्दैछन् । 

सबै कुरामा परनिर्भरता रहँदा एकदिन मुलुक टाट पल्टिन सक्छ त्यो समय नजिकिँदैछ । कृषि व्यवसायमा लागेका व्यक्तिहरू र युवायुवती विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । कृषिप्रधान देश भनेर चिनिने मुलुकले धनियाँसमेत आयात गरेर खानुपर्ने बाध्यता देख्दासमेत राजनीतिहरूको चेत नखुल्नु मुलुककै लागि दुर्भाग्यको विषय हो । जबसम्म वैधानिक रूपमा युवायुवतीलाई विदेश पठाइन्छ तबसम्म मुलुकको विकास सम्भव हुँदैन । त्यसैले अब युवायुवतीलाई स्वदेशमै रोजगारीको दिनु आवश्यक छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको छ । मुलुकलाई जबर्जस्ती जनताको मतविनै संघीयतामा लगिएको छ । 

संघीयता आफैंमा खर्चिलो व्यवस्था हो । संघीयताले कतिपय मुलुकहरू विभाजित भएका छन् । संघीयताले मुलुकका समस्या समाधान हुन सकेका छैनन् । संघीयता भनेको त ससाना मुलुकहरूलाई एकै ठाउँमा ल्याएर एकत्रित गर्ने कार्यका लागि संघीयता आवश्यक हुन्छ । नेपाल जस्तो सानो र कहिल्यै पनि अर्काको अधिनमा नरहेको मुलुकलाई संघीयता नै आवश्यक पर्ने वा नपर्ने भन्ने विषयमा पहिला कुनै छलफल र बहसै नचलाई मध्यरातमा संघीयता घोषणा गरिएको हुनाले पनि अहिले मुलुकमा समस्या देखिएको छ । 

पार्टीगत र व्यक्तिगत स्वार्थका लागि संघीयता लादिएको हुनाले त्यही स्वार्थ पूरा गर्ने खेलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लागि परेका छन् । सारा नेपाली रोइरहेका बेला उनको परिवार भने राजा महाराजाहरूको जस्तो शैलीमा ऐसआराम गरिरहेको जस्तो देखिएको छ । यी सबै तथ्यहरूलाई झुठ सावित गर्न अध्यक्ष दाहालले पारदर्शी ढंगले आफ्नो र आफ्नो परिवारको खर्चको विवरण प्रकाशित गरी सर्वसाधारण जनतालाई जानकारी दिनु आवश्यक छ । के त्यसो गर्न उनी तयार हुन सक्लान् त ?