चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । सुनसहित पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी बोल्न नजान्दा समस्या भएकाले दोभाषे झिकाइएको विमानस्थल सम्बद्ध एक अधिकारीले जानकारी दिए । विमानस्थल भन्सारबाट चिनियाँ नागरिक २३ वर्षीय ली निङ्छीलाई आइतबार सुनसहित पक्राउ गरिएको थियो । ड्रागन एयरको उडान नं. केए १०४ बाट हङकङ हुँदै काठमाडौं आएका उनलाई यात्रु जाँचपास तथा सहजीकरण शाखाबाट विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि ६ दिनका लागि म्याद लिइएको विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए । कपडाको पेटीमा लुकाएर ल्याएको सुन भन्सार चेकजाँचका क्रममा फेला परेको हो । उनले लगेजभित्र सुन लुकाएर ल्याएका थिए ।

आइतबारको बजार मूल्यअनुसार बरामद सुन करिब सवा २ करोड रुपैयाँ बराबरको छ । मंगलबार दोभाषे बोलाएर विस्तृत अनुसन्धान सुरु गरिने अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी श्यामलाल ज्ञवालीले कानुनअनुसार नै दोभाषे अनिवार्य रहेको बताए । ‘कुनै विदेशी नागरिकविरुद्ध मुद्दा दायर गरी अनुसन्धान थाल्नुपर्ने अवस्था आउँछ भने त्यसका लागि कानुनले नै दोभाषे अनिवार्य गरेको छ,’ उनले भने ।

दोभाषेबिना मुद्दा अगाडि बढाउँदा मुद्दा कमजोर हुने उनले बताए । ‘कुनै पनि अपराधमा पक्राउ परेको व्यक्तिले अंग्रेजी बोल्न सक्छ भने समस्या भएन, तर उसले अंग्रेजी बोल्न नसकेको अवस्थामा अनिवार्य दोभाषे चाहिन्छ’, उनले भने ।