क्वालालम्पुर (मलेसिया):= मलेसियामा ‘फोहोर, जोखिमपूर्ण र कठिन’ अर्थात् ३डी (Dirty, Dangerous and Difficult) क्षेत्रमा हजारौँ रोजगारीका अवसर उपलब्ध भए पनि स्थानीय श्रमिकको आकर्षण अत्यन्तै न्यून देखिएको छ।
मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी रमणन रामकृष्णनका अनुसार MYFutureJobs पोर्टलमार्फत ३डी क्षेत्रमा दशौँ हजार रोजगारीका पद सार्वजनिक गरिए पनि हालसम्म ३५२ जना मलेसियालीले मात्रै आवेदन दिएका छन्।
मन्त्री रमणनले ३डी क्षेत्रमा श्रमिकको माग दशौँ हजार रहेको तर स्थानीय नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिँदै सबै रिक्त पद MYFutureJobs मार्फत सार्वजनिक गरिएको बताए। स्थानीय श्रमिक उपलब्ध नभएपछि मात्रै विदेशी श्रमिक वा अन्य श्रमिक स्रोततर्फ जान सकिने सरकारी नीति रहेको उनको भनाइ छ।
मलेसियाली सरकारले ३डी क्षेत्रमा देखिएको निरन्तर श्रमिक अभावलाई सम्बोधन गर्न १५ हजार विदेशी श्रमिक भित्र्याउने निर्णयसमेत गरिसकेको छ। यस विषयमा स्थानीय श्रमिकलाई प्राथमिकता दिने नीति र उद्योगका लागि आवश्यक जनशक्ति सुनिश्चित गर्ने आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने मन्त्री रमणनले बताएका छन्।
उनका अनुसार रोजगारीका अवसर स्थानीय नागरिकका लागि खुला राख्दा पनि पर्याप्त आवेदन नआएपछि मात्र विदेशी श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढाइएको हो। यसले मलेसियाका निर्माण, कृषि, सरसफाइ, सेवा तथा अन्य कठिन श्रम क्षेत्रमा स्थानीय जनशक्तिको आकर्षण घटिरहेको अवस्थालाई समेत उजागर गरेको छ।
मन्त्री रमणनले ३डी रोजगारीमा विदेशी श्रमिकको आवश्यकता रहेको भन्दै सरकारको मुख्य उद्देश्य मलेसियाली नागरिकलाई रोजगारीमा प्राथमिकता दिनुका साथै उद्योग क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन नदिनु रहेको बताए।
यसैबीच, सरकारले मलेसियाको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने विषयमा पनि अध्ययन अघि बढाएको छ। राष्ट्रिय ज्याला परामर्श परिषद्ले यस विषयमा छलफल गरी सिफारिस गर्ने र त्यसपछि प्रस्ताव प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमसमक्ष निर्णयका लागि पेश गरिने मन्त्री रमणनले जानकारी दिएका छन्।
मलेसियामा ३डी क्षेत्रमा स्थानीय श्रमिकको सहभागिता न्यून देखिएसँगै उद्योगमा विदेशी श्रमिकमाथिको निर्भरता तत्कालै घटाउन कठिन हुने संकेत देखिएको छ।
स्रोत : स्थानीय मिडिया




















