काठमाडौं । फुलन्देकी आमाको उपनामबाट परिचित कलाकार उमेश राईलाई जापान एयरपोर्टबाटै नेपाल फर्काइएको छ । एक सांस्कृतिक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेशलाई प्राविधिक कारण भन्दै विमानस्थलबाटै नेपाल फर्काइएको हो । उमेशसँगै लोकगायिका सविना गुरुङलाई पनिसँगै फर्काइएको बताइएको छ ।
उनीहरू तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमका लागि गएका थिए । तमु धिं जापानले आयोजना गरेको २३आंै रोधी साँझ तथा रजत जयन्ती २०१९ का लागि गएका उनीहरूलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरूलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिइएको छ । यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।
कलाकार उमेशले आफूहरूलाई विना कारण फर्काइएको बताए । नेपाल आएपछि हिमालय टाइम्ससँग कुरा गर्दै भन्छन् ‘केही कारण नै खुलाइएन । साथै हामी भिजिट भिसामा गएकै कारणले संका गरेर फर्काएको हुनसक्छ ।’ यसअघि पनि अन्य देशमा विभिन्न कार्यक्रमका लागि जाने कलाकारलाई यसरी नै विमानस्थलबाटै फर्काइने गरेको पाइन्छ । नेपाली कलाकारहरूको आर्टिस्ट भिसा नहुने र भिजिट भिसामै जानुपर्ने बाध्यता भएकाले धेरै कलाकारले यस्तो समस्या भोग्नुपरेको छ ।


















