वासिंटन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरूको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिनेछ ।
अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेण्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रूपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ । वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ । अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीविरुद्ध पनि प्रतिबन्ध लगाएको थियो ।
इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो । यसैबीच तीनवटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबारमात्र अमेरिकाले मन्जुरी दिएको थियो । खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रूस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि उक्त कदम चालिएको अनुमान छ । इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने हृवाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भन्नुभयो, यो ९० दिनका लागि म्याद थप गरिएको हो । हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्यांकन गरिरहेका छौं ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ तर अमेरिका र साउदी अरेबीया, इजरायलसमेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्यरूपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रूपमा नभई इरानी ‘प्रपोगण्डा’ मन्त्रीका रूपमा काम गरिरहेको बताएको हृवाइट हाउसका एक उच्च पदाधिकारीले बताएका छन् ।
यसैबीच इरानी राष्ट्रपति हस्सन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन् । उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाइको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको बताए । अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चारमाध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ता दिएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘अमेरिकी हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन् ।’



















