काठमाडौं । असारको अन्त्यसँगै साउनको चहलपहल सुरु हुन्छ । साउन हिन्दु महिलाहरूका लागि विशेष महिना भन्ने गरिन्छ । यो महिना हरियो चुरापोते र मेहन्दीको महिनाका रूपमा लिइन्छ । यस महिनाको हिन्दु महिलाहरू हरियो र पहेलो रङमा सजिने गर्छन् । ब्रत तथा चुरा मेहन्दी लगाउने साउन महिनाको विशेषता हो ।
साउन लागेपछि मेहन्दी लगाउने चलन बनेको छ । साउनमा मेहन्दी लगाउनेकोे जताततै भिड हुन्छ । साउन महिनाको पहिलो र दोस्रो सोमबार महिलाहरू मन्दिर जाने, रातो, हरियो र पहेंलो चुरा पोतेको पहिरनमा सजिनेहरूको भिड जताततै देख्न पाइन्छ । चुरापोते र मेहन्दी पसलदेखि लिएर फुटपाथमा बस्नेहरूले समेत राम्रो व्यापार गर्ने गरेको व्यापारीको भनाइ छ ।
बालाजु घर भई लामो समयदेखि इन्द्रचोकमा व्यापार गर्दै आएका निकेश शाह भन्छन्, ‘चुरापोते सधंै चल्ने सामग्री हो तर साउनमा धेरै बिक्री हुन्छ । मानिसहरूको आवतजावत सधंै हुन्छ तर विशेष साउन, तीजलगायत अन्य चाडपर्वमा महिलालाई बढी बिक्री हुन्छ ।’
त्यस्तैगरी, गत सोमबार पशुपति मन्दिर जाने बाटोमा बसेर मेहन्दी लगाउँदै गरेका हेमक शाहले भने, ‘मन्दिर आउने व्यक्ति सजावटको लागि मेहन्दी लगाउँछन् । मेहन्दीको रङ अनुसारको माया गाडा हुने महिलाहरूको विश्वास छ ।’ सजावट र पुराना कुराको मान्यता दिने मेहन्दी लगाउने प्रचलन बढ्दै गएको उनले धारणा व्यक्त गरे ।
चुरा पोते, मेहेन्दी सदावहार चल्ने भएकाले यसको आयात पनि धेरै हुन्छ । गत आर्थिक वर्ष ०७५÷७६ मा २ अर्ब ४७ करोड ६४ लाखको मेहन्दी आयात भएको छ । पछिल्लो समय मेहन्दीको बढ्दो मागले गर्दा यसको आयात बढेको विभागले भनाइ छ ।
नेपालमा प्रयोग हुने अधिकांश कस्मेटिक सामान भारतबाट आयात हुन्छ । चीनबाट करिब ४ प्रतिशत आयात हुन्छ । बाँकी तेस्रो मुलकबाट आयात हुने गरेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०७५÷७६ को तथ्यांक हेर्दा टीका, टिकुली, ब्यांगल र पोते मात्र ५ करोड ४५ लाख रुपैयाँकोे आयात भएको छ.। धेरैजसो सामग्रीहरू भारतबाट आयात भएको छ । जसमा ५ करोड २२ लाख ६ हजार भारतबाट आयात भएको छ । त्यसैगरी, चीनबाट भने २१ लाखको आयात भएको छ । बाँकी तेस्रो मुलकबाट आयात भएको उनले बताए । उनी भन्छन्, ‘सजावटको सामानको आयात बढ्दो छ ।’ महिलाको तुलनामा पुरुषको सजावट सामान २ प्रतिशतले मात्र छ ।
मेहन्दी चुरा, पोते, जस्ता महिलाले सजावटको लागि पहिरिने चलन छ । सधंै आयात भइरहे पनि असार र मंसिरमा धेरै आयात हुने उनले बताए ।




















