चावहिल–कपन सडकमा सास्ती

काठमाडौं । चावहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ । सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै सकस हुने गरेको छ ।

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यहाँको सडक हँुदै मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई निकै समस्या छ । 

कपनको भृकुटी चोक, मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लो बाटोले यहाँका बासिन्दा आक्रान्त छन् । 

कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशे धारा पुग्ने सडकको अवस्थाका कारण स्थानीयबासी आजित बनेका छन् । हिलोले तरकारी व्यवसायमा पनि असर पारेको समबद्ध व्यापारीको गुनासो थियो । 

त्यस्तै मिलनचोक हुँदै साततले जाने सडको अवस्था अन्य सडकको भन्दा फरक छैन । ठेकेदारले ढलको काम समयमा नसकेको र कालोपत्र नभएकाले स्थानीयवासी मारमा परेका हुन् । आकाशे धारादेखि बालुवाखानी हुँदै बसपार्कसम्मको सडक २० करोडको लागतमा तीन वर्षभित्र निर्माण गर्न विसं २०७३ जेठ ३ गते दिवा÷शैलुङ जेभी कम्पनीले ठेक्का पाएको थियो तर करीब तीन किलोमिटर सडक निर्माण गर्नुपर्ने निर्धारित मितिभन्दा एक वर्ष बितिसक्दासमेत सडकको अवस्था जस्ताको त्यस्तै छ । 

आकाशेधारा–राममन्दिर सडकको अवस्था पनि उस्तै छ । हिलोले सवारी साधन पनि चल्न नसक्दा निकै सास्ती खेप्नुपरेकाले तत्काल सडक कालोपत्र गरी सुविधा दिनुपर्ने स्थानीयवासीको माग छ । ६ करोड ५५ लाखको लागतमा सो सडक निर्माणका लागि विसं २०७३ असार ३१ गते शैलुङ कन्सट्रक्सन प्रालिले ठेक्का पाएकामा तोकिएको मितिभन्दा करिब दुई वर्ष बितिसक्दासमेत सडक स्तरोन्ति हुन सकेको छैन । 

त्यस्तै, आकाशे धारादेखि आनिगुम्बा सडक निर्माणका लागि विसं २०७५ साउन १६ गते मृतसञ्जीवनी÷वाइबा एण्ड लामा जेभी नामको ठेकेदार कम्पन्नीले ६ करोड ३८ लाखमा निर्माण गर्ने ठेक्का पाएको थियो । विसं २०७६ साउन १५ गतेभित्र निर्माण गरिसक्नुपर्ने सो सडकको अवस्था अहिले पनि उस्तै छ ।

यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपर्दा पनि ठेकेदार कम्पनीले भने पानी लगायतको कारण देखाउँदै सडक निर्माणमा विलम्ब भएको भन्दै पन्छिने गरेका छन् ।

सडक विस्तार सुस्त

काठमाडौं । इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त भएको छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । 

काठमाडौं उपत्यका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

काम गर्ने साइट खुला हुनुभन्दा पहिले नै ठेक्का लगाइएकाले लामो समय हुँदा पनि काम अघि बढ्न नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनका अनुसार रुख, बिजुलीको पोललगायतका विभिन्न संरचना हटाउन सकिएको छैन । 

यो सडक निर्माणको जिम्मेवारी तीन फरक निमाण कम्पनीलाई दिइएको थियो । डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरूपमा निर्माणको जिम्मेवारी लिएका थिए । तीन कम्पनीमध्ये दुई कम्पनीको सम्झौता अवधि सकिसकेको छ भने एउटा कम्पनीको आगामी पुससम्म रहेको आयोजनाले जनाएको छ । 

आयोजनाले चार वर्ष पहिलेदेखि काठमाडौं उपत्यकाका १० सडक र तीन सडक पुलको विस्तारको काम सुरु गरेको थियो ।