मेची राजमार्ग आंशिकरुपमा सञ्चालन

पाँचथर । पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आजदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आजदेखि आंशिक रुपमा खुलेको हो । प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रुपमा सडक खुलेको हो । यद्यपि सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवत–जावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताए ।

पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आज करीब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए । पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले बताए । “सडकमाथि ठूलो परिमाणमा पहिरो अडिएको छ । कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन”, प्रजिअ वस्तीले भने, “झरेको पहिरो पन्छाउँदै सवारी आवागमन सञ्चालन गर्ने प्रयत्न भइरहेको छ ।” 

पहिरो जुनसुकै बेला झर्न सक्ने भएकाले दुई वटा स्काभेटर तयार अवस्थामा राखिएको छ भने आवश्यक सतर्कताका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकलाई दिउँसो मात्रै सञ्चालन गर्ने तयारी गरिएको छ । “पहिरो झरिसक्न कैयौँ दिन लाग्ने देखिन्छ । ठूलो वर्षा भए अझै पहिरो खस्न सक्छ”, प्रजिअ वस्तीले भने, “रातको समयमा सडक सञ्चालन गर्न तत्काल सम्भव छैन ।” 

जिल्ला विपत् व्यवस्थापन समिति पाँचथरले पाँचथर र इलाममा उपलब्ध सम्पूर्ण स्रोत र साधनको उपयोग गरेर सडक सञ्चालन गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ छ । 

यस्तै पहिरोबाट सडक लामो समय अवरुद्ध हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै यहाँ नौ किलोमिटर लामो वैकल्पिक सडक स्तरोन्नतिको कार्य शनिबारदेखि शुरु भएको छ । मेची राजमार्गको गुम्बाडाँडाबाट निवु खोला हुँदै राँके बजार जोड्ने उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाइएको प्रजिअ वस्तीले जानकारी दिए।