काठमाडौं । पेट्रोलियम पाइपलाइनको निर्माण सकिएसँगै परीक्षण सुरु भएको छ । पाइपलाइन निर्माण सकिएपछि पानी हालेर परीक्षण गरिएको थियो भने अन्तिम परीक्षणका रूपमा डिजल हालेर परीक्षण सुरु भएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार केही दिनसम्म परीक्षण निरन्तर रूपमा जारी रहनेछ । केही दिनदेखि इन्डियन आयल कर्पोरेसन (आइओसी)का प्राविधिकले पाइपलाइनको परीक्षण गरिरहेका छन् ।
पाइपलाइनको औपचारिक उद्घाटनपछि मात्रै पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति हुने प्रवक्ता गोइतले बताए । उनका अनुसार आगामी अगष्टभित्र पाइपलाइनको औपचारिक उद्घाटन हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम छ ।
अमलेखञ्जमा ३९ सय किलोलिटरको दुईवटा र ४१ सय किलोलिटरको दुईवटा भण्डारण ट्यांकी छ । जसमा १ करोड ६० लाख लिटर डिजेल भण्डारण गर्न सकिन्छ । पाइपलाइनबाट हाल डिजेल मात्र ल्याइनेछ । पेट्रोल र मट्टीतेल भने एक वर्षपछिमात्रै पाइपलाइनबाट आउनेछ ।
अमलेखगञ्जमा भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न एक वर्ष लाग्नेछ । नेपालतर्फ ३६.२ किलोमिटर पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । ३६ किलोमिटरमध्ये साढे ७ किलोमटिर पाइप भूमिगत प्वाल बनाएर राखिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आएपछि ट्यांकर ढुवानीका लागि लाग्ने खर्च वार्षिक २ अर्ब रुपैयाँ जोगिनुका साथै राजमार्गको ट्राफिक जाम तथा पेट्रोलियम पदार्थ चुहावटको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।



















