काठमाडौं । काठमाडौंको नारायणटारदेखि गौरीघाट हुँदै रत्नपार्क जाने सडकखण्डमा चल्ने निलो माइक्रोबसको मनपरी बढ्दै गएको पाइएको छ । यो रुटको अन्तिम गन्तव्य रत्नपार्कबाट नारायणटार र नारायणटारबाट रत्नपार्कसम्म रहे पनि उक्त माइक्रोले नारायणटारबाट यात्रु लिएर पशुपति तथा मित्रपार्कमै छाड्ने र फर्कने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।
शिवचोक बस्ने रिता लम्साल डिल्लीबजार जानका लागि दैनिक नीलो माइक्रो चढ्ने गर्दछिन् । डिल्लीबजारमा रहेको आफ्नो कार्यालय पुग्न ९ बजे नै निस्किने उनलाई १० बजेभित्र कार्यलय पुग्न मुस्किल हुने गरेको छ । उनी भन्छिन्, ‘नीलो माइक्रोबाहेक अन्य बस आउँदैन । माइक्रोले मित्रपार्कमा जाम धेरै भएको समयमा पशुपति गेटअगाडि र अन्य समयमा मित्रपार्कको ओरालोमा नै छाडिदिन्छ ।’
रत्नपार्कसम्म जानुपर्ने रुट भए पनि मित्रपार्कबाट फकाउँदा फाइदा हुने भएका कारण त्यहीँ यात्रु झारेर फकिर्ने गरेको दैनिक रूपमा गोठाटारबाट पुरानोवानेश्वरसम्म जाने सविन लामाले बताए । उनले भने, ‘निलो माइक्रो रुटअनुसार सञ्चालन भएको छैन । मित्रपार्कबाट पुन अर्काे सवारी चढ्दा दोब्बर भाडा तिनुपर्ने बाध्यता छ । सोही माइक्रोमा २० रूपैयाँमा पुरानो बानेश्वर पुगिन्थ्यो भने मित्रपार्कबाट पुनः अर्काे बस चढ्दा थप १० रुपैयाँ बढी लाग्छ ।
मित्रपार्क चोकमा बसेका ट्राफिक प्रहरी राजेश चौधरीले नीलो माइक्रोबसको रुट नारायणटारदेखि पुरानो बानेश्वर हुँदै रत्नपार्क जाने हो यदि बीच बाटोबाट नै फकाउँछन् भने त्यस्तो अवस्थामा कारबाही हुन्छ । उनले भने, ‘मित्रपार्क चोकमा धेरै सवारीसाधनको चापका कारण जाम पर्ने हुँदा त्यसको व्यवस्थापनका लाग्दा उक्त कुरामा ध्यान दिन सकिएको छैन ।’ उनले कुनै यात्रुले कारबाहीको माग गरे तत्काल कारबाही हुने बताए । तर यात्रुहरू उजुरी गर्दा पनि ट्राफिक प्रहरीले उक्त माइक्रोका चालकलाई अर्को पटकदेखि रुटअनुसार चल्नु मात्र भन्ने गरेको बताए ।




















