‘चर्चाका लागि उपद्रो गर्दिनँ’ – सिन्चुरी सुरेश घमाल

काठमाडौं । कुनै पनि गीतले लोकप्रियता कमाउँदा त्यस गीतको गायकको बढी चर्चा भएको पाउँछौं । तर त्यो गीत गाउने गायकभन्दा पछाडि अरूको पनि महŒवपुर्ण भूमिका हुन्छ भन्ने कमै स्रोतालाई थाहा हुन्छ । गीतको भिडियो र गायकको जति नै चर्चा हुन्छ त्यतिकै महŒवपूर्ण भूमिका गीत लेख्ने सर्जक अर्थात् गीतकारको पनि हुन्छ । 

‘शिव परियारले गाएको ‘सबैले मलाई घृणा गरे पनि तिमीलाई वाहा वाहा गरुन्’बोलको गीतबाट सुरेशको थप चर्चा बढ्यो । त्यसपछि उनले थुप्रै गीत लेख्ने अवसर पाए ।’– सिन्चुरी सुरेश घमाल 

गीतकारले शब्द रजना गरेपछि संगीतकारले संगीत भरेपछि मात्र गायकले गीत गाउने हुन् त्यसैले एक गीत पूर्ण हुन गीतकारको पाइला पहिलो हुन्छ । यसैबीच नेपाली गीतसंगीतको क्षेत्रमा दर्शक तथा स्रोता माझ निकै चर्चित हुन नसके केही दर्शक र सर्जकहरूमाझ लोकप्रिय बनेका छन् गीतकार सिन्चुरी सुरेश घमाल । 

गीतसंगीतको क्षेत्रमा थोरै शब्द रचना गरेपछि उनका गीत लोकप्रिय छन् । सुरेशले विशेषगरी छोटो समयमा अत्यधिक चर्चामा आउनेभन्दा दीर्घकालीन गीत लेखनमा बढी जोड दिन्छन् । उनले लेखेका गीतमध्ये दर्जन गीत बजारमा सार्वजनिक भइसकेका छन् । जसमा केही निकै लोकप्रिय छन् ।

गायक शिव परियारको स्वरमा रहेको ‘सबैले मलाई घृणा गरे पनि तिमीलाई वाहा वाहा गरुन्’बोलको गीत निकै चर्चामा आएको गीत हो । दीपक शर्माले संगीत भरेको यो गीत सुरेशले नै लेखेका हुन् । उनको यो गीत जब सार्वजनिक भयो चर्चा बटुल्न थाल्यो । गीतको चर्चासँगै गीतकार सुरेशको पनि चर्चा उत्तिकै भयो । त्यसपछि उनले धेरै गीत पनि लेख्ने अवसर पाए । उनले लेखेका ‘एक नदी, प्रेमको हत्या, अधुरो अधुरो, सायद महलको, सबैले मलाई, भुली दे, न हेरन यसरी’ बोलको गीत सार्वजनिक भइसकेका छन् । 

निकै चचिर्त रेडियो कार्यक्रम ‘बहकिने मन’मा बज्ने ‘कहिले सितल झैं’ बोलको गीत सुरेशले नै लेखेका हुन् । उक्त गीतमा उनलाई गीत लेखनमा रेशम सिरिजले साथ दिएका छन् । गीतमा कुमार गुरुङको स्वर तथा संगीत छ । प्रस्तोता महावीर विश्वकर्माले सञ्चालन गर्ने ‘बहकिने मन’ रेडियो कार्यक्रम थाहासञ्चार रेडियो नेटवर्कबाट देशभरका करिब सय रेडियोबाट एकसाथ प्रसारण हुन्छ ।

पछिल्लो समय एक दुई गीत लेखेरै चर्चामा आउनले गीतकार धेरै छन् । झट्ट सुन्दा रमाइलो लाग्ने तथा चर्चामा आउन मसलेदार शब्द (उपद्रो) लेखेर चर्चामा आउन नसक्ने सुरेशको भनाइ छ । ‘म शब्द रचनामा बस्दा मनले नै मान्दैन कि चटपटे बनाएर तथा अलिअलि उपद्रो गरेर गीत चलाउँ भन्ने । सुरुदेखि नै भावपूर्ण गीत लेखनबाट अगाडि बढेको भएर होला अहिले बजारमा चलेका गीतको लाइनमा म बस्न सकिन’, सुरेशले हिमालय टाइम्ससँग कुरा गर्दै भने,’ ‘श्रोताले गीत सुन्दा छुै आनन्द मिलोस् भन्ने चाहन्छु ।’

गीत निकै चर्चामा आउँदा पनि गीतकारलाई धेरैनै चिन्दैनन् नि ? केहिले काँही चित्त दुख्दैन ? भन्ने हाम्रो प्रश्नमा सुरेश भन्छन् ‘आफू गीतकार हुँ । बाहिर देखिने र सुनिनेको नाम दर्शक तथा श्रोतामा सहजै थाहा हुन्छ भन्ने पहिलेदेखि माइण्ड मेकअप हुन्छ त्यसैले होला आफू चर्चामा नआए पनि यस्तै हो सबै गीतकार भन्ने लाग्छ । तर आफ्नो नाम चलोस्, अरूले चिनोस् भन्ने चाहना त कसलाई पो हुँदैन होला र ।’

सुरेशको गीतको डायरीमा अहिले हजारभन्दा बढी गीत छन् । कसैले अफर गर्ने बित्तिकै उनीहरूको चाहनाअनुसारको गीत सुनाउने गर्छन् ।