खर्च कम गर्न अमेरिका जाँदा महंगा होटलमा होइन राजदूत निवासमा बस्ने इमरानको चाहना

पाकिस्तानी प्रधानमन्त्री इमरान खान केही दिनपछि संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदै छन्। उनी तीन दिने भ्रमणमा लागि जुलाई २१ मा अमेरिका पुग्ने छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री खानले महंगा होटलको साटो वासिङट्नस्थित पाकिस्तानी राजदूतको निवासमा बस्न चाहेको समाचारपत्र डनले उल्लेख गरेको छ।

अमेरिकामा कुनै देशका सरकार प्रमुख वा राष्ट्र प्रमुख अवतरण हुनेबित्तिकै सेक्रेट सर्भिसले सुरक्षाको जिम्मा लिन्छ भने सिटी एडमिनिस्ट्रेसनले ट्राफिक व्यवस्थापन सम्हाल्छ।

प्रधानमन्त्री खान राजदूत निवासमै बस्ने इस्लामवादको प्रस्तावलाई यी दुबै निकायले प्रभावकारी ठानेका छैनन्।

पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारतटर्कीजापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्।

अमेरिका जाने राष्ट्र  र सरकार प्रमुखले अमेरिकी सांसदविभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्।

राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने  तयारी भइरहेको छ।

पछिल्लो समय आर्थिक संकटसँग जुधिरहेको देशलाई अलिकति भए पनि आर्थिक भार कम गर्न इमरानले यस्तो गर्न लागेको समाचारमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग गत साता स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।

गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्।

खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।