नेपालले विश्वका अरू विभिन्न देशहरूसँग वर्षौंदेखि द्विपक्षीय सम्बन्ध राखेको छ । यी देशहरूले नेपालसँग द्विपक्षीय व्यापार, पर्यटन, लगानी तथा हवाई क्षेत्रको विकासमा सहयोग गर्दै आएका छन् । यी देशहरूले नेपालको दिगो विकास–निर्माण लगायत अरू क्षेत्रमा सहयोग गर्दै आएका छन् । काठमाडांैमा भारत, चीन, अमेरिका, बेलायत, रुस, जापान, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, फ्रान्स, जर्मनी, स्विट्जरल्याण्ड, ब्राजिल, कतार, सउदी अरब, युएई, फिनल्याण्ड, इजिप्ट, इजरायल, मलेशिया, थाइल्याण्ड, दक्षिण कोरिया र उतर कोरियाका गरी २५ देशका आवासीय दूतावास छन् । डेढ वर्षअघिसम्म नेपालमा डेनमार्कको पनि दूतावास थियो । नेपालसँग दौत्य सम्बन्ध भएका र नभएका विश्वका देशहरूसँग विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको देखिन्छ ।
चीनको हुवेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक रहेको छ । नेपाल र चिनियाँ व्यवसायीबीच आर्थिक–व्यावसायिक सम्बन्ध हुँदै आएको छ ।
नेपाल र पाकिस्तानबीच बेलाबेलामा आपसी हित र चासोका विषयमा छलफल हुँदै आएको छ । दुई देशका नेताहरू भेटघाटमा आपसी सम्बन्ध अझ सुदृढ बनाउने कार्य हुँदै आएको छ । यस्ता भेटमा कुनै दुई देशबीचको समस्याले दक्षिण एशीयाली संगठन सार्कको गतिविधिमा असर पर्न नहुनेमा जोड दिइँदै आएको छ । शान्तिपूर्ण वातावरणमा सार्कको भविष्य सुनिश्चित हुने र यसबाट नै यस क्षेत्रको आर्थिक विकास हुने तथ्यमा नेपालले जोड दिँदै आएको छ । सार्कको १९ सम्मेलन चाँडै हुने आशा गरिए पनि अद्यापि हुन सकको छैन । अनिश्चितता झन बढेर गएको छ । भारत र पाकिस्तानबीचको तिक्तताले सार्क निष्क्रियतातर्फ जान थालेको छ ।
नेपालका र थाइल्याण्डका उद्योग तथा वाणिज्य संघ र महासंघमार्फत दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सम्झौता हुँदै आएको छ । नेपालको आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न विदेशी लगानी आवश्यक भएको भनिँदै आएको छ । नेपालको लागि थाइल्याण्डको खाद्यान्नसम्बन्धी उद्योग, तयारी पोशाक क्षेत्रको लगानी अनुभव नेपाललाई चाहिएको भनिँदै आएको छ ।
नेपाल र श्रीलंकाबीच आर्थिक सम्बन्ध विस्तारका लागि जोड दिइँदै आएको छ । नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१ औँ वर्ष गाँठका अवसरमा नेपाली उद्यमी तथा व्यवसायीबीच नेपालमा कसरी लगानी बढाउन सकिन्छ भन्ने बारे विचार आदान–प्रदान भएको थियो । देशको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउन सन् २००६ मा दुई देशबीच ‘नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ स्थापना भएको थियो । दुई देशबीच पर्यटनको विकासको सम्भावना भए पनि सिधा उडान हुन नसक्दा वार्षिक हजारौँ पर्यटक गुमाउनु परेको छ । कुल जनसंख्यामा ७४ प्रतिशत बौद्धमार्गी भएको देश श्रीलंकाका नागरिकलाई सोझै लुम्बिनीसम्म ल्याउनसके यसले पर्यटन विकासमा ठूलो सहयोग पु¥याउने छ ।
नेपाल र जापानबीच सिधा हवाई उडानका लागि सम्झौता भइसकेको छ । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौता नवीकरण भएको हो । सम्झौतापछि नेपालले नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान हुने भनिएको छ । नेपाल र जापानबीच सिधा उडान भएपछि नेपाल भ्रमण वर्ष २०२० मा पर्यटको संख्या बढाउन सहयोग पुग्नेछ । भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य छ । नेपाल र जापानबीच सहयोग प्रबद्र्धनसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भइसकेको छ । उक्त परामर्श संयन्त्रले बेलाबेलामा नेपाल र जापानबीच सबै पक्ष र आयाममा बृहत् छलफल गर्दै जानेछ ।
नेपाल र म्यानमारबीच बेलाबेलामा आर्थिक र व्यापारिक सम्बन्ध सुदृढ गर्न दुबै देशका व्यवसायी उत्सुक देखिदै आएका छन् । म्यानमार नेपालसँगको व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने पक्षमा देखिएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि समझदारी भएको छ । समझदारीमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सरकारीस्तरमा सयन्त्र बनाउने भनिएको छ । यसका लागि दुवै देश सक्रिय देखिएका छन् । विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा बाहृय विद्युत आपूर्तिको खोजीमा छ ।
अस्ट्रेलिया र नेपालबीच द्विदेशीय कूटनीतिक सम्बन्ध, नेपाली पर्यटन सम्भावना र सम्बन्ध विस्तार गर्ने सम्बन्धमा भ्रमणटोलीको आदान–प्रदान हुँदै आएको छ । अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ, पर्यटनलगायत क्षेत्रको सहयोगमा प्राथमिकता दिँदै आएको छ ।
नेपाल र ताजकिस्तानका निजी क्षेत्रको सहभागितामा लगानी प्रबद्र्धनको सम्भावना खोजी हुन थालेको छ । दुई देशबीच केही योजना अघि सार्ने भनिएको थियो र ठोस काम भइसकेको छैन ।
जर्मनी ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा नेपाललाई सहयोग गर्न इच्छुक रहँदै आएको छ । नेपालका विभिन्न क्षेत्रमा जर्मनीले सहयोग गर्दै आएको छ । जर्मनीले लगानी सम्मेलन २०१९ को कार्यान्वयनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालका विभिन्न क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्दै आएको छ । विगतमा युएसआइडीले विकास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विगतमा मातृ तथा शिशु पोषण सुधार, शिक्षा, पानी, सरसफाइ, स्वास्थ्य सेवामा पहँुच, कुखुरापालन तथा तरकारी खेतीमा सहयोगलाई निरन्तरता दिई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपाल ल्याटिन अमेरिकी देशसँग द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीमा साझा हित प्रबद्र्धन गर्ने इच्छुक देखिएको छ । ल्याटिन अमेरिकी देशबाट नेपालमा लगानी प्रवेश गराउन पहल गर्ने, नेपालको व्यापार ती देशसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमण आदान–प्रदान गर्नेलगायतका विषयमा छलफल हँुदै आएको छ ।
ब्राजिलले संसदमा छुट्टै विधानसहित नेपाललाई आफ्नो प्राथमिक मित्र समूहमा राखेको बुझिएको छ । नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले ब्राजिल–नेपाल संसदीय संसदीय समूह गठन गरेको देखिन्छ । भौगोलिक तवरले निकै टाढा भए पनि आपसी सद्भावले दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जाने देखिन्छ । ब्राजिलले नेपालमा जलविद्युत र पर्यटनमा लगानीको प्रयास गर्दै आएको छ ।
नेपालका वाणिज्य संघ–महासंघहरूले बेलाबेलामा भएको विभिन्न देशका चेम्बर अफ कमर्ससँग भएका समझदारी कार्यान्वयनले व्यापार, लगानी र पर्यटनमा सहयोग पुग्ने विश्वास गरिँदै आएको छ । उल्लिखित विभिन्न देशसँगको विकास सम्बन्ध तथा सहयोग निकै कम छ । द्विपक्षीय लगानी, व्यापार प्रबद्र्धन, पर्यटनसम्बन्धी कदम हुँदाहुँदै किन नेपालमा ठूलो व्यापार घाटामा छ र अर्थिक वृद्धि हुन सकिरहेको छैन चिन्ताको विषय भएको छ ।




















