पहिरोको जोखिम बढाउँदै डोजर

काठमाडौं । स्थानीय तहहरूले खनिरहेका ग्रामीण सडकहरूले जोखिम बढ्दै गएको छ । कुनै इञ्जिनियरिङ अध्ययन र वातावरणीय मूल्यांकनबिना खनिएका सडकले जोखिम बढ्दै गएको हो । 

स्थानीय तहहरूले सडक निर्माणलाई प्राथमिकतामा राखेका भए पनि डोजरको जथाभावी प्रयोग भइरहेका कारण सडकले पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम बढेको छ । ‘गाउँमा डोजर आतंक छ । वन र खेत खनेर बनाइएका सडकले पहिरोको जोखिम बढेको छ’ दार्चुलाका मालिकार्जुनका बासिन्दा उद्धव धामी भन्छन्, ‘यस्तै तरिकाले सडक विस्तार गर्ने हो भने कुन दिन गाउँ नै उठिवास हुनुपर्ने  हो भन्न सकिन्न ।’

बैतडी गोकुलेश्वरका बासिन्दा अर्जुन सिंह मालको पनि उस्तै गुनासो छ । उनी भन्छन्, ‘त्यसै त पहाडी क्षेत्र पहिरोको उच्च जोखिममा छन् । बर्खाको समयमा बाटो हिलाम्य हुन्छन् । कतिबेला घरमाथिबाट पहिरो खस्छ थाहा हुँदैन । यसरी हुने विकासले झन् डर बढाएको छ ।’

भूगर्भविद् डा. रञ्जनकुमार दाहाल यस्तो काम गराईले पहिरोको जोखिम उच्च हुने बताउँछन् । ‘डोजर चालक नै सडक इञ्जिनियर बन्न थाले, जुन गतिमा डोजर आतंक चलेको छ यसले दीर्घकालीन असर गर्छ’ उनले भने, ‘हामीले सडक निर्माण गर्दा न्यूनतम मान्यताहरूलाई पनि वास्ता गरेका छैनौं ।’

बुधबार साँझ धनगढीबाट काठमाडौंका लागि हिँडेका दार्चुलाका लोकेन्द्रप्रसाद जोशी ९ घण्टा जाममा बसेर राजधानी आइपुगे । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकामा पर्ने गल्छीमा बालुवा र लेदोले सडक अवरुद्ध भएपछि उनी धनगढीबाट झण्डै दोब्बर समय लगाएर काठमाडौं आइपुगेका हुन् । ‘राजमार्ग जोडिएर बनेका ग्रामीण सडकका कारण यात्रुहरूले यस्तो दुःख भोग्नुपरेको भन्दै उनले स्थानीय तहमा अहिले बनिरहेका सडकका कारण भोलि समस्या निम्तिन सक्ने बताए । 

पहिरोका कारण बर्सेनि जनधनको क्षति हुने गरेको छ  । 

संघीय सरकारबाट सडक निर्माणका सम्बन्ध निश्चित विधि र प्रावधान बनाएर कडाइ गरिए केही हदसम्म नियन्त्रण हुने भूगर्भविद् दाहाल बताउँछन् । ‘सडक भएको हुनलाई पिच भएको हुनुपर्ने, नाली निर्माण भएको हुनुपर्ने प्रावधान राख्ने हो भने केही हदसम्म हामी यसबाट बच्न सक्छौं’ उनले भने ।