काठमाडौैं । खोटाङस्थित हलेसी महादेव दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा बा१३च ३७९३ नम्बरको कार सोमबार मध्यरातमा दुर्घटना भएको हो । कार सडकको घुम्तीबाट करिब २ सय मिटर तल सुनकोशी नदी किनारमा खसेको थियो । मध्यरातमा दुर्घटना भएकाले उद्धारकार्यमा ढिलाइ भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा कार चालक दीपक लामिछानेकी श्रीमती ४५ वर्षीया हेमलता लामिछाने र दीपकका दाजु ६० वर्षीय अच्युत लामिछाने रहेका छन् । कार चालक दीपक र अच्युतकी छोरी २६ वर्षीय आस्था घाइते भएका छन् । उनीहरू दुवैको उपचार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
दुर्घटनामा परेका एकै परिवारका यात्रु काठमाडौं महानगरपालि भीमसेन गोलाका स्थायी बासिन्दा हुन् । उनीहरू सोमबार बिहान निजी कारमा हलेसी दर्शनका लागि गएका थिए ।




















