चलचित्र क्षेत्रविरुद्ध युवाहरूको प्रदर्शन

काठमाडौं  । चलचित्र ‘वीर विक्रम २’ र मेमे नेपाल नामक युट्युव सञ्चालक प्रनेश गौतमबीचको विवाद थप जटिल बन्दै गएको छ । चलचित्र टिमले प्रनेशविरुद्ध मुद्दा हालेपछि उनी अहिले प्रहरी हिरासतमा छन् । चलचित्र निर्माण टिमले कलाकारहरूको मानहानी गरेको भन्दै मुद्दा हालेको थियो ।

यस्तै बुधबार प्रनेशको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भन्दै राजधानीमा प्रदर्शन भएको छ । प्रनेशको रिहाइको माग गर्दै स्वतन्त्र रूपमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । युवा विद्यार्थीले गौतमको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले गौतमलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन् । 

‘पहिला फिल्म गतिलो बना न !’ ‘फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘सरकार हामीले यो देशमा बोल्न पनि नपाउनु’ लगायतका नारासहितका प्लेकार्ड बोकेर गौतमलाई रिहा गर्न माग गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै उनीहरूले मुखमा टेप लगाएर प्रदर्शन गरेका थिए ।

मिम नेपालकालागि प्रनेशले गरेको फिल्म समीक्षालाई लिएर फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरी अदालतमा हाजिर गराएको थियो । अदालतले थप अनुसन्धानका लागि गौतमलाई थुनामा राख्न आदेश दिएको थियो ।

यता चलचत्रिका निर्माता मिलनले बुधबारै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्थाबारे जानकारी गराएका छन् । उनले प्रनेशलाई जेल हाल्ने मनशाय नभएको प्रष्ट पारेका छन् । उनले समिक्षा गरेको भन्दा पनि कलाकारहरूको मानहानी हुनेगरी समीक्षा गरिएको भन्दै उनीविरुद्ध उत्रिएको प्रष्ट पारेका थिए ।