काठमाडौं । अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गरेका छन् ।
मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभागी हुन जेनेभा पुगेका साउदी अरेबिया र लेबनानका समकक्षीले भेटवार्ता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्री विष्ट र लेवनानका श्रममन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच भएको भेटमा श्रम आप्रवासनका विविध आयामबारे छलफल भएको थियो । त्यस्तै उनीसँग आजै साउदी अरबका श्रम तथा सामाजिक विकासमन्त्री अहमद विन सलमान अलराझीले पनि भेटवार्ता गरे ।
भेटमा उनीहरुबीच श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । रासस




















