खोटाङ । खोटाङको छुट्टाछुट्टै स्थानमा तीन वर्षअघि हत्या गरिएको तीनजना महिलाको हत्याराको पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । दोषीको पहिचानका लागि अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता नलाग्दा बारम्बार प्रश्न उठ्ने गरेको हो । हत्या भएको लामो समय बित्दा पनि हत्याराको सुराकसम्म नभेट्दा औपचारिक तथा अनौपचारिक कार्यक्रममा सरोकारवालाहरुले प्रहरी तथा प्रशासनमाथि प्रश्न उठाउने गरिरहेका छन् ।
२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पत्ता नलागेको भन्दै खोटाङका लागि प्रहरी नायब उपरिक्षक भएर दिक्तेल आउनु भएका प्रनाउ बामदेव गौतमलाई सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुले तीन महिला हत्याको अनुसन्धानका बारेमा प्रश्न गरेका थिए । पत्रकारहरुको प्रश्नमा प्रनाउ गौतमले कुनै कसुर वाँकी नराखी हत्यामा संलग्नहरुको खोजी गरिने बताए । अहिले नै भन्न सक्दिन तर, भरपुर मेहेनत गर्नेछु ।
सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घटनास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यता, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । यस्तै, माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो । घटनालाई शंकास्पद मानिएको छ ।




















