काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारत सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस कुराको जानकारी गराइएको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अबदेखि नेपाली झण्डा फहराईएका रेलले नेपाली समान बोकेर भारतको कोलकता र हल्दियासम्म समान ढुवानी गर्न पाउने जानकारी गराए ।
जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकमा भारतले नेपाली रेल कोलकतादेखि विराटनगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति जनाएको वाणिज्य तथा आपुर्ति सचिव केदारबहादुर अधिकारीले बताए ।
बैठकमा रेलमार्फत् द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा विविध विषयमा छलफल भइ सहमति पनि भएको सचिव अधिकारीले बताए ।
भारतले पारवाहन सम्झौतमा व्यवस्था गरिए आफ्ना सुख्खा बन्दरगाह र नेपाली सुख्खा बन्दरगाहबीच तेस्रो मुलुकसँग हुने ब्यापारका लागि कार्गो रेल सेवा सुरु गर्न सकिने छ ।
नेपाल–भारत रेल सेवा सम्झौता ५ वर्षका लागि नवीकरण भएको छ ।



















