१९ बर्ष पछि विजेश्वरीका हत्यारा पक्राउ

भक्तपुर । भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

टोलीले हत्यामा संलग्न देवीरमण  अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफुले काम गरेको घरकै घरवेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए । हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे । हत्या गर्नु अघि अधिकारी र बिजेस्वरी प्रजापति बीच काम बापतको तलबका विषयमा वादविवाद भएको थियो।

आफुले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतीको हत्या गरेर अधिकारी फरार भएका थिए । हत्या पछि नेपाल र भारतमा लुकिछिपि बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमा नजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका अधिकारीलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ ।