कथा : दाउरे

दामा र हडिया खोलाको बीचमा रहेको मझुवा झोडामा एउटा दाउरे परिवार बस्छ । बाँसको टाटीमा माटोले लिपेका भित्ता र भित्तामा रातोमाटो र कमेराले पोतेको अनि बाबियाले छाएको छानो भएको झुपडीमा परिवारका तीन सदस्य बस्छन् । झुपडीनजिकै गाईगोठ र बाख्राको खोर पनि देखिन्छ । अाँगनमा कुखुरा क्याउँक्याउँ गर्दै चारो खाँदै गरेको, गोठमा गोरु ड्वाँ ड्वाँ गर्दै डुक्रेको आवाजले ग्वामबहादुरको दिउँसोको भाते निद्रा खल्बलिन्छ । 

बाँसको मचानमाथि गुन्द्री ओछ्याएको खाटबाट धुस्नो भएर फाटेको कम्बल पन्छाउँदै ग्वामबहादुर गर्जियो ‘गोरु, बाख्रा पघा लाउन छोडेर यो भुन्टीकी आमा कता मुन्टी हँ ? भातमारा आइमाई ! दिनभरि गाउँ चहा¥यो, अर्काको कुरा काट्यो नकचरी !’ भुत्भुताउँदै ग्वामबहादुर बारीमा गोरु र बाख्रा पघा लगाएर थाप्लोमा डोकोनाम्लो भिरेर हातमा बन्चरो बोक्दै दाउरा काट्न अँधेरी वनतिर लम्किन्छ ।

बाटोमा छिमेकी रुचाल कान्छोसँग उसको जम्काभेट हुन्छ । अँधेरी र तीनतले वनतिर वनजाँचेहरू पसेका छन् है ग्वामे दाइ, तिम्रा ढाड भाच्लान् नि’ भन्दै रुचाल कान्छोले ग्वामबहादुरलाई सजग गरायो । दाउरा नबेचे भरे बेलुका चुलो बल्दैन, बरु भोकै मर्नुभन्दा त वनजाँचेको कुटाइ खाएरै मर्नु बेस सम्झी ऊ वनतिर जान्छ ।

मैलो धुस्नो भएर फाटेको टोपीबाट आधी कपाल बाहिर निस्केको, खपटे अनुहारमा झुस्स परेका तिलचामले दारीजुँगा, आधी गिँडेको सुरुवालबाट देखिने सुइखुट्टे पिँडुला, मरन्च्याँसे आकृतिको ग्वामबहादुर एउटा दरिद्रताको उदाहरण नै हो । सम्पत्तिको नाममा उसका एक हल पाका गोरु, दुइटा बाख्रा, चार÷पाँचवटा कुखुरा र कोठेबारीमा ठडिएको एउटा झुप्रो घरबाहेक केही छैन । रातको एघार बजेको सुनसान रात, दामा खोलो नराम्रो गरी सुसाइरहेको थियो । पर होक्से गाउँमा कुकुर भुकेको आवाज सुनिन्थ्यिो । 

पुसको चिसो रातमा हडिया खोलातिरबाट सिरेटो आइरहेको थियो । चिसो रात, स्वास्नी नभएको जिन्दगी, नाबालक छोरीको लालनपालन आदि कुरा सम्झेर ग्वामबहादुर अति नै दुःखी भयो । झुप्रो घरभित्र दुईवटा बाँसका मचानमाथि बनाइएका ओच्छ्यान, ओच्छ्यान नजिक अगेनाको छेउमा बसेका बाबुछोरी सिरेटो चलेको चिसो रातमा बाहिरबाट छिरेको जुनको प्रकाशमा निकै कारुणिक देखिन्थे । होचाकी जोई सबैकी भाउजू भनेझैँ ग्वामबहादुरलाई ढाडपछाडि छिमेकीहरू नाम बिगारेर ग्वामे पनि भन्छन् ।

जस्तोसुकै पीडा र गरिबी भए पनि ग्वामबहादुर आप्mनी चार वर्षकी छोरी भुन्टीलाई साह्रै माया गथ्र्याे । परिवारको मुखमा माड हाल्नका लागि ऊ दाउरा कहिले होक्से गाउँमा र कहिले गिद्दे गाउँमा बेच्थ्यो र बेलुका चामल, नुन, भुटुन लिएर घर फर्किन्थ्यो । भुन्टी पनि बाबु कहिले आउँछन् भनी बाटो कुरिरहन्थी । 

सदाझैँ आज पनि ऊ रासनपानी बोकेर घरको पिँडीमा सुइय सुस्केरा हाल्दै डोको थ्याच्च बिसाउँछ । रुन्चे मुख लाएर भुन्टी दगुर्दै आएर बाबुको काखमा बस्छे । उसले छोरीको कपाल सुम्सुम्याउँदै ‘खोइ तेरी आमा ?’ भनेर सोध्छ । त्यो अबोध बालिका भक्कानिँदै केही उत्तर नदिई बाबुको काखमा लुपुक्क परेर निदाउँछे । ‘असारी ! ए असारी ! कता मुन्टिस् हँ ?’ भन्दै ग्वामबहादुर आप्mनी स्वास्नीलाई कराएर बोलाउन थाल्छ । एक घण्टा, दुई घण्टा हुँदै रातको एघार बज्यो असारीको अत्तोपत्तो छैन । बिहान भयो, असारी घरमा आइन । 

भोलि भयो, पर्सि भयो असारीको कतै आउने गुन्जायस देखिएन । गाउँमा छिमेकीहरू गुनगुन गर्न थाले । ग्वामेकी स्वास्नी त पोइला हिँडिछ त नाबालक छोरीलाई अलपत्र पारेर ।’ दुःखी ग्वामबहादुरको जीवनमा ठूलो बज्रपात प¥यो । चिसो रात, स्वास्नीविनाको जिन्दगी, नाबालक छोरीको लालनपालन आदि कुरा सम्झेर ग्वामबहादुर अति नै दुःखी भयो ।

दिन बित्दै गए । भुन्टी पनि नजिकैको नमुना स्कुलमा पढ्न थाली । ग्वामबहादुरले पत्नीवियोगको पीडा भुल्दै गयो । दाउरा नै बेचेर भए पनि उसले छोरीलाई राम्ररी पढाएर ठूलो मान्छे बनाउने सपना देख्न थाल्यो । अँधेरी वनमा सखुवाको मुढो चिर्दाचिर्दै थकाइ लागेर ऊ मुढैमाथि भुसुक्कै निदाएछ । 

अर्ध निद्रामा सपनामा उसले असारीलाई देख्यो । असारी उसलाई भन्दै थिई ‘ग्वामु ! मलाई यो दसंैमा सुनको एउटा तिलहरी र भुन्टीलाई फुल्बुट्टे जामा किनिदेऊ है । तिम्रो पनि सुरुवाल फाटेको छ, एक जोर दौरासुरुवाल सिलाऊ है’ भन्दै असारीले सारीको छेउले ग्वामबहादुरको पसिना पुछिदिई । ऊ, जंगलमा कोइलीको कुहूकुहू आवाजले झल्याँस्स ब्युँझिएछ । विपनामा उसले असारीको धोखे रूप सम्झियो र दाउराको भारी बोकेर ऊ छोरीलाई सम्झदै घरतिर लाग्यो । 

समय बित्दै गयो । भुन्टीले पनि नमुना स्कुलबाट अब्बल दर्जामा एसइई उत्तीर्ण गरी । त्यो मातृहीन बालिका पनि हेर्दाहेर्दे तरुनी देखिन थाली । उसलाई स्कुलमा साथीहरूले ‘दाउरेकी छोरी’ भनेर जिस्क्याउँदा हीनताभास हुन थाल्यो । तर, भुन्टी बाबुलाई साह्रै माया र सम्मान गर्थी । 

स्कुलबाट आएर घरमा गाईवस्तु, बाख्रा पाठा, कुखुराको स्याहार गर्थी, भाततिहुन पकाउँथी र बाबुसँग दुःख सुखका कुरा गर्थी । बैँसमा स्याल पनि पनि घोर्ले हुन्छ भनेझैँ भुन्टीलाई पनि सोह्र वर्षे जवानीमा कुखुरे बैँसले नछोएको त होइन तर जवानीमा प्रवेश गरेका उसका साथीसँगी उत्ताउला र चञ्चल भए पनि भुन्टी सुन्दर, मिहिनेती र राम्रो शिलस्वभावकी थिई । ग्वामबहादुर पनि भुन्टीको अनुहारमा असारीको प्रतिमूर्ति देख्थ्यो । 

भुन्टीले बिपीकेआइएचएस कलेज, धरानमा अर्ध छात्रवृत्तिमा डाक्टरी पढ्ने मौका पाई । अति दुःखी ग्वामबहादुरको जिन्दगीमा खुसीको घाम लाग्न थाल्यो । ग्वामे दाउरेलाई छिमेकीहरूले पनि ग्वामबहादुरलाई ग्वामु दाइ, ग्वामे काका भनेर सम्बोधन गर्न थाले । गाँस काटेर र अहोरात्र दाउरा चिरेर भए पनि ग्वामबहादुरले छोरीलाई डाक्टरी पढाउनका लागि पैसा पठाइरहृयो । 

कुमालेको चक्र घुमेझैँ समय चक्र पनि घुम्दैघुम्दै चार वर्र्षमा भुन्टीमाया लिम्बूले एमबिबिएस उत्तीर्ण गरी । दीक्षान्त समारोहका लागि अभिभावकहरूलाई निमन्त्रणा गरियो । ग्वामबहादुर लिम्बूको नाममा पनि निमन्त्रणा पत्र कलेजबाट हुलाकमार्फत पठाइयो । 

उता भुन्टी पनि डाक्टरी डिग्री लिएर आप्mनो मझुवा गाउँमा आफूजस्तै गरिब गाउँलेहरूको स्वास्थ्य उपचार गर्नका लागि आतुर थिई । दीक्षान्त समारोहको दिन आप्mनो देवतासमान बाबुको मुहारमा खुसीको लहर कुदेको हेर्नका लागि भुन्टीको ब्यग्रताको बाँध फुट्न आँटेको थियो ।

दीक्षान्त समारोहको दिन सबैका अभिभावक आए तर भुन्टीका बाबु आएनन् । भुन्टीले भक्कानिँदै रोदन मिश्रित भावमा डाक्टरी प्रमाणपत्र ग्रहण गरी । भोलिपल्ट भुन्टी आप्mनो गाउँ हिँडी । खुसी र रोदन मिश्रित भावमा घरको आँगÞनमा पाइला टेकी । कतिखेर बाबुलाई भेटेर प्रमाणपत्र देखाई अंकमाल गरौँ भन्ने चाहनाले ब्यग्र भुन्टीले बाबु देखिनँ तर आँगनभरि छिमेकीहरूको भीड देखी । गाउँलेहरू उसलाई डाक्टर भएकोमा खुसी हुनुको साटो मलिन अनुहार लगाएर छक्क पर्दै हेर्न थाले । 

‘रुचाल काका ! मेरो बुबा खोई त ?’ भुन्टीले डर मिश्रित स्वरमा सोधी । रुचाल कान्छा बोलेनन् । ‘घिमिरेनी हजुरआमा ! भन्नु न मेरो बुवा खोई त ?’ फेरि भुन्टी कराउन थाली । घिमिरेनीले रुँदै र भुन्टीलाई अंकमाल गर्दै भनिन् ‘भुन्टी ! तेरा बाबु त आजै तिनतले भीरबाट दाउरा चिर्दाचिर्दै लडेर खसे ।’ 

भुन्टी बेहोस् भएर भुइँमा लडी । छिमेकीहरूले भुन्टीलाई पानी छ्यापे तर पनि भुन्टी उठिन । असीमित र अकल्पनीय पीडाले गर्दा भुन्टीले पनि सदाका लागि यो संसार छोडी । छिमेकीहरूले भुन्टी र ग्वामबहादुरको पार्थिव शरीरलाई एकै ठाउँमा नजिकै नजिकै चिहान बनाएर अन्तिम संस्कार गरे ।

म पनि एक दिन दामा खोलामा पैनीमा पानी फर्काउन जाँदा चिहानघारीको बाटो हिँडेको थिएँ । चिहानघारीमा एकजोर फरक र भिन्न प्रकृतिका चिहान थिए । ती चिहानमाथि दाउरा भरिएको डोको, नाम्लो, बन्चरो र एउटा डाक्टरी प्रमाणपत्र राखिएको थियो । ग्वामे काका र भुन्टी बहिनीको सम्झनाले मेरा आँखाबाट दुई थोपा आँसु तरक्क झरे । त्यो बाटो हिँड्दा अझै पनि ती अभागी दाउरे काकाको सम्झनाले मेरो मुटु चसक्क दुख्छ । 

होक्से, बुद्धशान्ति–१, झापा ।