आर्थिक वृद्धिदर ७.१ प्रतिशत : विश्व बैंक

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष अर्थात् सन् २०१९ मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । नेपालमा निजी लगानी र उपभोग बढ्नु नै ७ अंकमाथिको आर्थिक वृद्धिको मुख्य आधार रहेको विश्व बैंकको निष्कर्ष छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने संशोधित लक्ष्य प्रक्षेपण गरेका थिए । केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर ६.८१ प्रतिशत तथ्यांक सार्वजनिक गरेको थियो । बिहीबार नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गर्दै सार्वजनिक गर्दै विश्व बैंकले सेवा क्षेत्रमामात्रै ७.५ प्रतिशतले विस्तार हुने जनाएको छ । अपडेट अनुसार खुद्रा व्यापार, होटल र रेस्टुरेन्टलगायत उपक्षेत्रमासमेत प्रगति भएको छ । सेवा र कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कृषिमात्रै ५ प्रतिशतको वृद्धि रहने भन्दै बैंकले यो वृद्धिदर ३० वर्षको औसत ३.१ प्रतिशतभन्दा उच्च भएको उल्लेख गरेको छ । बढ्दो व्यापारीकण, मल र बीउको सहज आपूर्ति, सिँचाइ पूर्वाधारको विस्तारलगायतले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको विश्व बैंकले जनाएको छ । पर्यटक आगमन बढेको र रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

औद्योगिक उत्पादनको वृद्धिदर पनि सन्तोषजनक रहेको भन्दै यस वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हासिल हुने जनाइएको छ । विद्युत्को सहज उपलब्धताका कारण अवस्था सहज बनेको बैंकको ठहर छ । यस वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आगामी आव २०७६÷७७ मा ६.४ प्रतिशत र आव २०७७÷७८ मा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि तीव्रगतिमा काम गर्नुपर्ने बताए । डिजिटल टेक्नोलोजीको प्रयोगमा धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले आर्थिक विकासमा समानुपातिक सहभागितामा जोड दिए । 

उनले राजस्व संकलनमा भन्सारमा मात्रै आश्रित नभई आन्तरिक उत्पादनमा बढी जोड दिइने बताए । दुई अंकको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिका लागि अहिले दिगो विकास जरुरी रहेको र वर्तमान अवस्थामा त्यसको सकारात्मक प्रभाव देखिएको उनको जिकिर थियो ।

विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन एजिमेनारीले चालु आर्थिक वर्षमा व्यापारघाटा उच्च रहे पनि सन् २०३० को लक्ष्य प्राप्तिका लागि उच्च गतिमा वृद्धि गरिनुपर्ने बताइन् । विश्व बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात, अस्वस्थ प्रतिस्पर्धाको बजार र बजारमा महिला सहभागिता निकै कम हुनु नेपाली अर्थतन्त्रका लागि चुनौती भएको बताए । 

सरकारी खर्च सन्तोषजनक हुन नसकेको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्चीजस्ता ठूला परियोजना पछि धकेलिएको पनि उल्लेख गरेको छ ।