बेइजिङ । गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता हुवावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अपडेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आप्mना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ ।
गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई विदेशी प्रतिद्वन्द्वीबाट जोगाउन राष्ट्रिय संकटकाल घोषणा गरेपछि गुगलले हुवावेइका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो । ट्रम्पको उक्त निर्णय विशेषतः चिनियाँ प्रविधि कम्पनीप्रति लक्षित रहेको विश्लेषकहरू ठान्छन् ।
हुवावेई स्मार्टफोन उत्पादनका लागि चिनिएको भए पनि उसले सञ्चारसम्बन्धी अरू उपकरण पनि बनाउँछ । त्यस्ता उपकरणको बिक्रीमाथि अमेरिकामा प्रभावकारीरूपमा प्रतिबन्ध लगाइए पनि विश्लेषकहरूले विश्वभरी ४० देखि ६० प्रतिशत सञ्जालमा नियन्त्रण गर्ने आँकलन गरेका छन् ।
आरोपहरूको एउटा जटिल शृंखलामा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरू, चोरिएको रोबोटिक उपकरण, हिराको जलप लगाइएका बलिया सिसा र इरानसँगको शंकास्पद गोप्य सम्झौता रहेका छन् । मोबाइल फोन सञ्जालको अर्को क्रान्तिको रूपमा हेरिएको फाइभजी प्रविधि आपूर्ति गर्नका लागि हुवावेई विश्वभरीका देशहरूसँग छलफलमा छ ।
तीव्र गतिको सो प्रविधि चालकविना चल्ने कार र अन्य धेरै नयाँ प्रणालीमा पनि प्रयोग हुने ठानिएको छ । कुनै देशको फाइभजी आधारभूत संरचनामा हुवावेई भए त्यस्तो दूरसञ्चार सञ्जालबाट जासुसी गरेर पछि व्यवधान उत्पन्न गराउन सक्ने दाबी अरू देशहरूको रहेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश आउनुभन्दा अघि नै अमेरिकाले आप्mना पश्चिमा साझेदारलाई सो चिनियाँ कम्पनीसँग सहकार्य नगर्न दबाब दिने गरेको थियो । त्यस्तो दबाब अमेरिकाले आपूm पनि संलग्न तथाकथित ‘फाइभ आइज’ समूहका युके, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डलाई दिएको थियो । सो समूहका गुप्तचर निकायबीच घनिष्ठ सम्बन्ध छ र उनीहरूबीच विशेषतः गोप्य विद्युतीय सूचना आदानप्रदान हुन्छ ।
फाइभजी सञ्जालमा हुवावेइका उपकरण जडान गर्ने अंग्रेजी भाषा बोल्ने देशसँग त्यस्ता सूचना नबाँड्ने अमेरिकाले बताएको छ । हुवावेइको उपकरण आप्mनो सूचना प्रणालीमा प्रयोग गर्ने देशसँग सूचना नबाँड्ने चेतावनी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएका छन् । हुवावेइले बारम्बार आफूले चिनियाँ सरकारका लागि जासुसी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । तर, आलोचकहरूले गुप्त सूचना नदिए कम्पनी सञ्चालन हुन असम्भव हुनेखालका प्रावधान भएका चिनियाँ कानुनले तिनलाई जासुसी सूचना संकलन गर्न बाध्य पार्ने तर्क गरेका छन् ।
हुवावेइले अमेरिकाले लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै ‘प्रतिबन्धले अमेरिकालाई केवल निम्नस्तरका सामान र महँगा विकल्पमा सीमित बनाउने तथा त्यसले अमेरिकालाई फाइभजी विस्तारमा पछाडि पार्ने र अन्ततः त्यसले अमेरिकी कम्पनी र उपभोक्तालाई नै असर पु¥याउने’ चेतावनी दिएको छ ।
अमेरिकाले प्रकट गरेको प्रविधिसम्बन्धी जासुसीको त्रास सम्भवतः आंशिकरूपमा उसको आप्mनै व्यवहारका कारण उत्पन्न भएको हुनुपर्छ । एनएसएका भूतपूर्व परामर्शदाता एडवार्ड स्नोडेनले अमेरिकी गुप्तचर निकायले वर्षौँसम्म गुगल र याहुसमेत अमेरिकाका प्रमुख प्रविधि कम्पनीसँग सम्बन्धित डेटा हृयाक गरेर इन्क्रिप्सन प्रविधिलाई अवमूल्यन गरिदिने प्रयास गरेको खुलासा गरेका छन् । कुनै देश किन आप्mनो प्रतिद्वन्द्वी देशमा रहेको कम्पनीप्रति शंकालु हुन्छन् भन्ने बुभ्mन सजिलो छ । तीव्र गतिको वायरलेस नेटवर्क अलि अस्पष्ट लाग्छ । तर, हुवावेइसँग सम्बन्धित एउटा प्रकरण भने स्पष्ट छ ।
हुवावेइका एक इन्जिनियरमाथि रोबोटको हात चोरेको आरोप लाग्यो । तर, टी मोबाइल नमुना विकास गर्ने प्रयोगशालाबाट निस्किँदा रोबोटको सो भाग दुर्घटनावश खसेको र आप्mनो झोलामा परेको हुन सक्ने उनको दाबी छ । उपकरणको सो भाग फोनको स्क्रिन परीक्षण गर्न प्रयोग हुन्छ ।
त्यतिबेला हुवावेइसँग सहकार्य गरेको जर्मनीको कम्पनीले त्यसलाई विश्वास गरेन र पछि उनीहरूले अदालत बाहिरै विषयको टुंगो लगाए । अहिले सो प्रकरण फेरि बिउँतिएको छ । नयाँ इमेलहरूमा ती इन्जिनियरलाई चीनमा रहेका वरिष्ठ कार्यकारीले नै सो उपकरण चोर्न निर्देशन दिएको हुनसक्ने शंका व्यक्त गर्दै उनले आपूm एक्लैले त्यसो गरेको दाबीप्रति संशय व्यक्त गरिएको छ । यही सन्दर्भमा हुवावेइकी प्रमुख वित्तीय अधिकारी मङ वान्जु गत वर्ष क्यानडामा पक्राउ परेकी थिइन् ।
मङले उक्त आरोप अस्वीकार गरेकी छन् । उनी अझै पनि अमेरिका सुपुर्दगी हुनबाट जोगिने प्रयास गरिरहेकी छन् । उनीविरुद्ध लगाइएका अन्य आरोप हुवावेई र इरानसँग सम्बन्धित छन् । स्काइकोम नामक कम्पनीमार्फत इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्ध छल्ने काममा उनी पनि संलग्न भएको आरोप छ ।
अमेरिकाको साझेदार युकेमा पनि आफ्नो फाइभजी नेटवर्क विकास गर्न हुवावेइका उत्पादनहरू प्रयोग गर्ने कि, नगर्ने भन्नेमा बहस चलेको छ । हुवावेइका उपकरण प्रयोग गर्ने किन नगर्ने भन्ने छलफलको कुरा चुहाएको आशंकामा ब्रिटेनका रक्षामन्त्री गत महिना पदमुक्त भएका थिए ।
चिनियाँ उपकरणलाई गम्भीर सुरक्षाको चासो भएकाबाहेक अन्य क्षेत्रमा प्रयोग गर्न सकिने राष्ट्रिय सुरक्षा परिषद्को छलफलको सूचना चुहाएको आरोपमा उनको पद गुमेको हो । त्यससम्बन्धी निर्णय अहिले विचाराधीन नै छ र हुवावेइसँग सम्बन्धित अन्य विषयजस्तै यसको पनि भविष्य अनिश्चित छ ।




















