काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध आन्दोलनरत नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने भएको छ । सरकार कानुन नै बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्न उद्दत रहेको भन्दै प्रेस युनियनले मिसनका लागि अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएएफजे) लाई गुहार्ने भएको हो ।
मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई लिएर आइएफजेसँग राख्नुपर्ने विषयका बारेमा छलफल गर्न बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले सरकार संविधानविपरीत पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्न उद्दत देखिएकाले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउन आवश्यक देखिएको बताए । उनले ट्युनिसियामा आयोजना हुन गइरहेको आइएफजेको विश्व सम्मेलनमा नेपालको पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरूका बारेमा धारणा राख्ने बताए ।
जुन ११ देखि १४ सम्म ट्युनिसियाको राजधानी ट्युनिसमा आइएफजेको ३० औं विश्व सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा सहभागी हुन अध्यक्ष सिग्देलसँगै उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी ट्युनिसिया जाने भएका छन् ।
सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक, विधेयकको विरोधमा जारी आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उठाउनुपर्ने कदमका बारेमा छलफल गर्न युनियनले अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रियाका क्रममा आएका सुझावअनुसार युनियनले आइएफजेको विश्व सम्मेलनमा धारणा राख्ने अध्यक्ष सिग्देलले प्रतिबद्धता जनाए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले कानुननै बनाएर सरकारले मिडियामाथि नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मर्मविपरीत भएको बताए । उनले राज्य पक्षबाटै मिडियामा ‘थ्रेट’ बढेको विषय विश्व सम्मेलनमा उठाइनुपर्नेमा जोड दिए ।
‘मिडियामाथिको थ्रेट स्टेट पक्षबाटै बढ्न थाल्यो । सेन्सरसिप बढ्ने खतरा छ, सरकारी मिडियामा स्टेटले नै सेन्सरसिप लगाइसकेको छ । प्राइभेट सेक्टरमा पनि खतरा छ । सरकारले कानुन नै बनाएर मिडियामाथि नियन्त्रण गर्न खोजिरहेको छ,’ उनले विश्व सम्मेलनमा युनियनले उठाउनपर्ने विषयका बारेमा सल्लाह दिँदै भने, ‘आइएफजेसामु ज्ञानेन्द्रको पालामा गरेको सहयोग फेरि चाहिएको छ भनेर कुरा राख्नुपर्दछ ।’
महासंघका उपाध्यक्ष विपुल पोखरेलले राज्यले कानुन बनाएरै मिडियामाथि आक्रमणमा उत्रिनु खेदजनक भएको बताए । उनले राज्य, सन्काहा जनप्रतिनिधि र बिचौलियाहरूबाट पत्रकारिता क्षेत्रमाथि खतरा बढेको बताए । पोखरेलले पत्रकारिता क्षेत्रमाथि बढेको खतरा न्यून गर्नका लागि आइएफजेलाई मिसनसहित नेपाल बोलाउन युनियनसँग आग्रह गरे ।
‘पत्रकारिता क्षेत्र कति असुरक्षित छ भन्ने कुरा विभिन्न घटनाक्रमले देखाएका छन्,’ उनले भने, ‘यी तीन (राज्य, सन्काहा जनप्रतिनिधि र बिचौलिया) बाट तत्काल पत्रकारिता क्षेत्र जोगाउन आइएफजेलाई नेपाल आउने वातावरण बनाउन युनियनले पहल गर्नुपर्छ ।’
सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रणमा राख्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको भन्दै नेपाल पत्रकार महासंघ र प्रेस युनियन आन्दोलित छन् ।




















