काठमाडौं । इदको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको फिल्म ‘भारत’ नेपालमा भने शुक्रबार प्रदर्शनमा आउने चर्चा थियो । यसअघि, फिल्म ‘कलंक’लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो । किनकि, नेपाली फिल्म शुक्रबार मात्र रिलिज हुने गर्दछन् ।
विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने भन्दै बोर्डले ‘बोल्ड’ निर्णय लिएको थियो । यसको चौतर्फी प्रशंसा पनि भएको थियो । विदेशी फिल्म अन्य दिन प्रदर्शनमा आउँदा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् । भारतमा बुधबार रिलिज हुन लागेको फिल्म ‘भारत’ पनि शुक्रबार रिलिज गर्नुपर्ने निर्णयमा बोर्ड अडिग थियो । तर, अब यो फिल्म बुधबार भारतसँगै नेपालमा पनि प्रदर्शन हुने भएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंले ‘भारत’लाई बुधबार नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट (मनोज राठी) ले रिट दायर गरेको थियो । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ ।
अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ बुधबार नै रिलिज गर्न अदालतले दिएको आदेशको प्रति सम्भवतः मंगलबार बोर्ड अध्यक्ष केशव भट्टराईको हातमा पुग्नेछ । अदालतको आदेशसँगै अब विदेशी फिल्म अन्य दिनमा पनि प्रदर्शन हुन सक्नेछन् । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयलाई अदालतको आदेशले ठूलो धक्का दिएको छ ।




















