वैदेशिक रोजगारी युवा पलायन रोकिँदैन, सुरक्षित र मर्यादित बनाइन्छ: श्रममन्त्री यादव।

काठमाडौं:= युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वर्तमान विश्व परिवेशमा वैदेशिक रोजगारीमा युवा पलायनलाई तत्काल रोक्न सम्भव नरहेको स्पष्ट पार्दै सरकारको मुख्य प्राथमिकता यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु रहेको बताएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको युगमा मानिसहरूको एक देशबाट अर्को देशमा रोजगारीका लागि आवतजावत स्वाभाविक प्रक्रिया भएकाले वैदेशिक रोजगारी बन्द गर्नेभन्दा श्रमिकको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्नु आवश्यक रहेको बताए।

उनका अनुसार सरकारले नेपाली श्रमिकले उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, गुणस्तरीय आवास तथा आधारभूत सेवा–सुविधा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ युरोपेली मुलुकलगायत सुरक्षित र उच्च प्रतिफल दिने नयाँ श्रम गन्तव्यसँग श्रम सम्झौता गर्ने पहल अघि बढाइरहेको छ।

मन्त्री यादवले सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन नयाँ श्रम बजारको खोजी गरिरहेको उल्लेख गर्दै श्रमिक शोषण रोक्न प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने बताए।

आन्तरिक श्रम बजार सुधारका विषयमा बोल्दै उनले देशभित्र काम गर्ने श्रमिकले भोग्दै आएका कम पारिश्रमिक र श्रम शोषणका समस्या समाधान गर्न श्रम विभागमार्फत अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याइने जानकारी दिए। यस प्रणाली लागू भएपछि श्रमिकहरूले सामान्य उजुरीका लागि पनि श्रम कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले वैदेशिक रोजगार विभागबाट सुरु गरिएको अनलाइन उजुरी प्रणाली लाई प्रभावकारी रूपमा सञ्चालन गरिने र यही मोडेललाई आन्तरिक श्रम बजारमा समेत विस्तार गरिने बताए।

मन्त्री यादवले विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै अब सरकार त्यस्ता गतिविधिविरुद्ध कडा र निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए।

उनले जनताले छिटो र प्रभावकारी परिणामको अपेक्षा गरेको उल्लेख गर्दै मन्त्रालय परिणाममुखी काममा केन्द्रित रहेको बताए। साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र श्रमिकमैत्री बनाउने अभियानमा सरकार निरन्तर अघि बढिरहेको उनको भनाइ छ।