खगेन्द्रको निर्देशनमा पानीफोटो

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले चलचित्र निर्देशनमा हात हाल्ने भएका छन् । ‘भर्सटायल अभिनेता’को रूपमा परिचित खगेन्द्र चलचित्र ‘पानीफोटो’बाट निर्देशनमा औपचारिक रूपमा होमिने भएका हुन् ।

खगेन्द्रले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा ‘पानीफोटो’ बन्ने घोषणा गरेका छन् । आफंै लिखित नाटकलाई उनले चलचित्रको स्वरूप दिएको बताएका छन् । ‘यो मेरो सपनानै थियो कि यसलाई चलचित्र बनाउने किनकि म यो कथालाई धेरै दर्शक माँझ पु¥याउन चाहन्छु’, उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा चलचित्र बनाउने निर्णय लिएको थिए ।’

उनले चलचित्रमा झण्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई देखाउनेछन् । यो चलचित्र दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुनलागेको हो । 

खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झनाहरू समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई चलचित्र बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले चलचित्र निर्माणमा लागेपछि सिकेका कुरालाई सदुपयोग गरी इमानदारीतापूर्वक ‘पानीफोटो’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्र रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्तरूपमा निर्माण गर्नेछन् । चलचित्र सन् २०२० मा रिलिजगर्ने लक्ष्यनिर्माण टिमको छ । चलचित्र दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् ।

पुष्पा संगमले चलचित्रमा पाश्र्व संगीत दिनेछन् । चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, निशाशर्मा पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायत कलाकारको अभिनय छ । 

पशुपति प्रसाद र धनपति चलचत्रि निर्माण गरेको टुकी आर्ट्सले यस चलचित्र निर्माणमा मन्जुश्री फिल्म्ससञ्ग सहकार्य गरेको छ । चलचित्रमा लेखन खगेन्द्रकै रहेको छ ।