पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी असार १७ गते प्रदान गरिने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष आफ्नो प्रदर्शनका आधारमा चर्चामा रहिरहने क्रिकेटका सन्दीप लामिछाने, फुटबलका सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, भलिबलका रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन उक्त अवार्डको मनोनयनमा परेका हुन् ।

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ । एसएमएस र फेसबुक लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ । चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ । अवार्ड विजेता खेलाडीले एक थान पल्सर मोटरसाइकल पाउँनेछन् । खेलाडीलाई भोट गर्न नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् ।

२०६० सालबाट निरन्तर हुँदै आएको अवार्डको यो १६औं संस्करण हो । यस संस्करणमा पिपुल च्वाइससँगै विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ । यस वर्ष वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट खेलाडी पुरुष, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इअर अवार्ड प्रदान गरिनेछ ।

विगत वर्षझै यस वर्ष पनि वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, पिपुल च्वाइस अवार्ड र वर्षको उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गरिनेछ । त्यसबाहेक अन्य विधाका विजेताले जनही ५० हजारसहित गिफ्ट हृयाम्परहरू पाउनेछन् ।