जनकपुरधाम । मिथिलाञ्चलमा आज वट सावित्री अर्थात वरसाइत पर्व मनाइँदैछ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिली महिलाहरू मुख्यतः यो पर्व धुमधामका साथ मनाइरहेका छन् । मैथिली महिलाहरूले मनाउने चाँडमध्ये वट सावित्री महान् पर्वकै रूपमा मनाइने गरिन्छ ।
यो पर्व जेठ महिनाको आमवश्य तिथिका दिन मनाउने गरिन्छ । वट सावित्रिमा महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रूपमा विधिपूर्वक पूजा अर्चना गर्ने परम्परा रहेको जनकपुरधाम गायत्री शतिmपीठका पण्डित चन्द्रशेखरले बताए । पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीका साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले श्रीमानको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहोलो धागो वेरी पूजा गर्छन् ।
वरको रुख घेरेर उनीहरू बृक्षमा विवाहको लगन गाँठोको प्रतिक मंगल धागो वेरेर पूजा आराधना गरी पर्व मनाएका हुन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी पतिको प्राण फर्काएको बताइन्छ । यही मान्यताअनुसार महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । जनाको सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत मनाउन थालेका छन् ।
तस्वीर : जनकपुरधाममा सोमवार एक बर–पिपल वृक्ष मुनी बरसाइत पर्व मनाउदै ब्रतालुहरुको समुह ।




















