लघु आकलन नगर
ओठमाथिको बहुआयामिक
तील चामले र झुसे भुत्ला भनेर
हाँडीघोप्टे, सिरुपाते, आकाशमुखे,
हिटलरे बहुरूपी रौँको खैरो र
कालो मुस्लो देखेर
यो अर्ध सजीव केशराशीले
रौँ परिवारको सर्वप्रतिष्ठित
सर्वगर्वित र सर्वप्रिय
सदस्यता धारण गरेको छ ।
यो शरिर आत्मा केशको नाति,
दारीको भाइ अनि आँखिभौं, परेलादिसँग
भाइचारा साइनोमा दरिएको छ
विजयी योद्धाको कमरको रक्तमिश्रित
दापमा टलक्दार नयनभेदी सिरुपाते खुकुरी
भएझैं मर्दको माथ्लो ओठमाथिको
गर्वपथमाथि
परेड खेल्ने स्त्री नयनभेदी सुन्दर
केशपुन्ज जुँगा
र त कहावत छ
जुँगाविनाको मानिस नुनविनाको डिम्बासरि
जुँगाहीन पुरुष नामर्द विशेषण
आभूषित चुल्ठोविनाकी अवलासरि ।
त्यो एक झुप्पा रौँ राशिले
बोकेको छ
चौधौं शताब्दीदेखिको इतिहास
फ्रान्सेली शब्दावलीमा
चौधौं शताब्दीमा न्वारान भयो
मस्टास शब्दको
त्यही शब्दार्थ तन्नेरी भएर
नेपाली जुँगा कहलियो
सयौं मानव संज्ञामा
जुँगाको प्रत्यय अनि
उपसर्गको फुर्को
जोडिई न्वारन संज्ञा दिग्भ्रमित हुनपुग्यो
जुँगामा बडप्पनको ताउ लाउँदा लाउँदै
मेरा गाउँले काका षडानन्दाचार्य
जुँगे आचार्यमा दरिए
जुँगे शब्दकोशमा जुँगाजन्य उपनाम
आभूषित जुँगे भाले मानवहरू मर्द ठहरिए
भारतपुत्र राम सिंहको
साढे अठार फिट लामो
जुँगाले विश्व रेकर्ड बनायो
चार्ली चैपलिनको
हिटलर शैली पुच्छर
र सुँड गिँडिएका जुँगाले
पृथ्वी हँसायो
दारीजुँगा सफाचट
चकलेटी मुहारधारी
पुलिंगी मनुस्यहरू
जुँगा ब्रहृमाण्डबाट
घोक्य्राइए गैरजुँगा जातीय लोकतिर ।
जुँगे बृहत् शब्दकोशमा
नामर्द कहलिएका जुँगाहीन
प्रेम भँमराहरू प्रेमचरीहरूसँग
निश्चिन्त डिस्को नृत्य गर्छन्
हिटलरको
जुँगामुखे युद्धले
दोस्रो विश्वयुद्ध सल्कियो
जुँगा प्रतीकात्मक
गोरुको लडाइँमा
अबोध बाच्छाको मिचाइले
अनगिन्ती मानव बध भयो
हिटलर र लेनिनका
जुँगाका अनुयायीहरू
वर्तमान जुँगे रंगमञ्चमा
ताण्डव नृत्य गर्छन्
यो ओठमाथिको भुत्लापुञ्ज
इतिहास, मर्दान्गिनी
प्रेम आदिको प्रतीक
सिरुपाते जुँगाफुलको थुङा
यो झम्के दारी प्यारीलाई
फूलबारी भन्देऊ सानीलाई
भन्ने जुँगाजडित प्रेम गीत होस्
या जुँगा चल्यो कुरा बुभ्mयो भन्ने उक्ति होस्
या सोह« वर्षे नवयुवकको
जुँगाको प्रथम रेखीको मनमोहक
जवानी प्रवेशको झझल्को होस् ।
जुँगा सर्वव्यापी सर्वगुण सम्पन्न छ
सत्यार्थमा यो रौँ श्रेष्ठ, बहुमुखी
शालीनताको प्रतीक
सर्वअजेय, सर्वप्रिय, अजर, अमर र सर्वजित ।
बुद्धशान्ति–१, झापा




















