काठमाडौं । प्रधानमन्त्री केपी ओली भारतको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ गएका उनी शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।
विदेश भ्रमणमा जानुअघि र फर्कंदा त्रिभुवन विमानस्थलमा पत्रकारसँग भ्रमणबारे संक्षिप्त कुराकानी गर्ने क्रमलाई प्रधानमन्त्री ओलीले शुक्रबार भंग गरे । उनी विमानस्थलबाट सोझै बालुवाटारतर्फ प्रस्थान गरे । उनी भारतमा गएलगत्तै मुलुकको राजनीतिमा सरकारको नेतृत्व परिवर्तनबारे चर्चा चलेको थियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै अध्यक्ष पुष्पकमल दाहालले आगामी १५ महिनासम्म ओली प्रधानमन्त्री रहने र त्यसपछि पूर्वसहमतिअनुसार आफूले सरकारको नेतृत्व गर्ने जिकिर गरेपछि सत्तारूढ दलभित्रै सत्ता परिवर्तनबारे एकाएक बहस सिर्जना भएको छ ।
पार्टी एकताअघि नै ओली र दाहालबीच भएको भनिएको सहमतिपत्रसमेत बाहिरिएको अवस्थामा त्यसबारे ओलीले प्रतिक्रिया दिने अपेक्षासहित शुक्रबार साँझ विमानस्थलमा पुगेका सञ्चारकर्मी निराश भएर फर्किए ।
ओलीले दिल्लीमै रहँदा यसबारे संक्षिप्त प्रतिक्रिया भने जनाइसकेका थिए । काठमाडौं फर्कनुअघि सरकारको नेतृत्व परिवर्तनबारे दिल्लीमा सोधिएको प्रश्नमा उनले सञ्चारकर्मीलाई भनेका थिए, ‘पत्र उहिले नै सार्वजनिक भएको हो, यो विषयलाई अहिले उछालेका छन्, अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो ।’
तपाईंको कार्यकाल अब एक वर्ष मात्र देखिन्छ नि ¤ भन्ने प्रश्नको जवाफमा उनले हाँसेरै ‘एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ’ भनेका थिए ।
२०७४ असोजमा पहिलोपटक ओली प्रधानमन्त्री हुँदा तत्कालीन माओवादी केन्द्रले समर्थन जनाएको थियो । निश्चित समयपछि माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाललाई सरकारको नेतृत्व सुम्पने सर्तमा दुई दलबीच सत्ता साझेदारी भए पनि ओलीले सहजरूपमा सत्ता हस्तान्तरण गर्न नचाहेपछि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो । त्यसपछि कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए । ओली र दाहालबीच अहिले सत्ता हस्तान्तरणको विषयमा देखिएको विवादले कतै पुरानै इतिहास दोहोरिने त होइन भन्नेतर्फसमेत विश्लेषकहरू लख काट्न थालिसकेका छन् ।
भारतमा मोदीको दोस्रो कार्यकाल सुरु हुँदै गर्दा नेपालसहितका छिमेकी तथा मित्रराष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा निम्त्याइनु, मोदीसँगको भेटवार्तालगायत विषयमा प्रधानमन्त्री ओलीले पत्रकारसमक्ष व्यक्त गर्नुपर्ने टिप्पणी यथेष्ट रहे पनि पार्टीभित्रै सत्ता परिवर्तनका पक्षमा उठेका आवाजका कारण उनी सञ्चारकर्मीका प्रश्नको सामना नगरी बालुवाटार गएको हुनसक्ने स्रोत बताउँछ ।
प्रधानमन्त्रीलाई विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी लगायतले स्वागत गरेका थिए ।




















