सगरमाथा दिवस

यो सिजन (वसन्त ऋतु) मा सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने पर्वतारोहीहरूको भीड लाग्यो छ । चोमोलुङमा चढ्न जाने र चढेर फर्कनेहरूको भीडभाडमा बाटोमा पर्खने र साइड दिने क्रममा ट्राफिक जाम भयो । केही आरोहीहरू यसरी बाटोका लागि पर्खने क्रममा अकालमै चिसोले कठ्यांग्रिएर (फ्रस्ट बाइट भएर) मृत्युको मुखमा समेत परे । यसरी दुःखद् समाचारसहित यो सिजनका लागि सगरमाथाको आरोहण लगभग पूरा भएको छ । 

हुन पनि यो सिजनमा इतिहासकै सबैभन्दा धेरै पर्वतारोहीहरूको संख्या सगरमाथा आरोहणका लागि गएको थियो । त्यसो त विश्वव्यापी व्यापारीकणसँगै बढ्दो क्रममा रहेको छ, पर्वतारोहण खेल । त्यसैले, अबका दिनमा सगरमाथा अर्थात् चोमोलुङमा र त्यसका आसपासमा रहेका ल्होत्से, चोयु, नुप्से, आमादब्लम, चोलात्से, तावाचे, लोबुचे, आइल्यान्ड पिकलगायत अन्य ससाना हिमालमा अरू बढी भीडभाड हुनेछ । किनभने, हाल हिमाल आरोहण विश्वभरीका एक सय एक पर्वतारोहीहरूका लागि मात्रै नभएर सर्वसाधारण मानिसहरूका लागि पनि रमाइलोको विषय हुँदै गएको छ । त्यति मात्रै होइन वास्तवमा पर्वतारोहणले मानिसलाई आदर्श र रोमाञ्चक बनाउनुका साथै आपूmलाई कन्सन्टे«ट गराउन पनि सहयोग गर्दछ ।

यसै सेरोफेरोमा सगरमाथा दिवस मनाउन थालिएको बारेमा केही चर्चा गर्नु उपयुक्त नै होला । नेपाल सरकारले सरकारीस्तरमा निर्णय गरेर सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउन थालेको २०६४ देखि मात्रै हो । तर, निजी क्षेत्रका खासगरी पर्यटन व्यवसायी त्यसमा पनि टे«किङ एजेन्सीहरूले भने धेरै अघिदेखि नै सगरमाथा दिवस मनाउन थालेका हुन् । यसरी सगरमाथा विजय गरेको दिन अर्थात् सन् १९५३ मे २९ मा जब पहिलोपटक (तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमन्ड हिलारी न्युजिल्यान्ड) ले सफलतापूर्वक सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता प्राप्त गरे, त्यही दिनलाई विश्वभरी चिरकालसम्म सम्झनलाई र सगरमाथाबारे प्रचारप्रसार गर्नलाई हरेक वर्षको मे २९ लाई सगरमाथा दिवस मनाउने निर्णय भएको हो । अझ, हामीले विश्वभरिकै सरकार र विश्वका जनताहरूलाई पनि सगरमाथा अर्थात् चोमोलुङमाको महŒवलाई बुझाएर विश्व सगरमाथा दिवस विश्वभरी मनाउनेतर्फ पनि पाइला चाल्नसके उचित हुनेथियो । 

त्यसो त हाल युरोपियन देशहरूमा पनि सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउनलाई समिति बनेको छ । यसरी हाल आएर नेपालमा मात्रै नभएर युरोप–अमेरिकामा पनि सगरमाथा अथवा ‘एभरेस्ट डे’ मनाउन थालिएको छ । जसलाई सकारात्मक मान्न सकिन्छ ।

तर, दिवस मनाएर मात्रै केही हुँदैन । एक दिन दिवस मनाउने र सम्झना गर्ने बाँकी दिन केही नगर्ने प्रचलन  बढ्दो छ । त्यसैले, बरु अबका दिनमा सगरमाथाको प्रथम आरोहीद्वयमध्ये एक स्वर्गीय सर एडमन्ड हिलारीले उनी आपूm जिउँदो हुँदा बारम्बार भनेझैँ केही समय सगरमाथालाई आराम गर्न दिने कि ¤ अनि सगरमाथामाथि विजय पाउने उत्कट अभिलाषा लिएर गएकाहरू र उतै मृत्युवरण गरेकाहरूका शवहरू पनि खोजेर फिर्ता ल्याउन पहल गर्ने पो कि ¤ अन्य फोहोरजन्य वस्तुहरूलाई पनि बटुलेर फिर्ता ल्याउने प्रयास गर्नु अति नै आवश्यकता छ । 

त्यसै त केही वर्षअघि  २१औं पटकसम्म सफलतापूर्वक सगरमाथा चढिसकेका आप्पा शेर्पाले ८ हजार मिटर क्षेत्रमा पानी देखेको बताएका थिए भने यसरी वातावरणीय प्रभावलाई पनि बेलैमा व्यवस्थापन गरिएन भने भोलिका दिनमा सगरमाथा नरहन पनि सक्छ । अनि सगरमाथा नै रहेन भने के को कीर्तिमान ? कहांँको कीर्तिमान ? 

एक बेलायती पर्वतारोहीले भनेझैँ ‘किनकि, त्यो त्यहाँं छ ।’ र त सगरमाथाको शिरमा अनेकौं कीर्तिमानहरू कायम भएको छ । जस्तै कि, विश्वकै पहिलो महिला सगरमाथा आरोही, नेपाली प्रथम महिला आरोही, विश्वकै पहिलो अन्धा–अपांग आरोही, प्रथम विवाहित जोडी आरोही, पाको उमेरकी महिला आरोही, उत्तर–दक्षिण दुवै दिशाबाट आरोहण गर्ने प्रथम महिला आरोही, सबैभन्दा ठूलो दल, नेपाली प्रथम पत्रकार आरोही, पाको उमेरका आरोही, विनाअक्सिजन आरोहण गर्ने आरोही, सगरमाथाको शिरबाट स्की गरेर झर्ने आरोही, धेरै घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने आरोही, धेरै पटक सफलतापूर्वक चढ्ने आरोही, एचआइभी एड्स पीडित आरोही, कुनै पनि जातिका प्रथम आरोही, छिटो सगरमाथा आरोहण गर्ने आरोही आदिको कीर्तिमान नै कीर्तिमानको खात लागेको छ । यस्ता कीर्तिमानी आरोहीहरू प्रायः नेपालीहरू नै रहेका छन् । विश्वको पर्वतारोहण इतिहासमा गर्व गर्न लायक अनेक कीर्तिमानहरू वास्तवमै नेपालीकै हातमा परेका छन् । 

यसरी सगरमाथा कीर्तिमान राख्ने होडमा नेपालका पूर्वपरराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्यायले पत्रकार सम्मेलन गरेर आपूmले ८० वर्षको उमेरमा सगरमाथाको शिरमा पाइला राखी विश्वकै वृद्ध आरोही बन्ने घोषणा गरेर गरेका थिए । तर, सगरमाथा चढ्ने क्रममा उनको निधन भयो । यसरी कीर्तिमान राख्ने क्रममै नेपालका अर्का  पाको उमेरका मीनबहादुर शेरचनले पनि ८२  वर्षको  पाको उमेरमा  सगरमाथा  चढ्छु भनी प्रस्थान गरेका थिए । तर, उनले  पनि सगरमाथाको आधार शिविरमै प्राण त्यागेका थिए । यसरी  विश्वकै अग्लो शिखर सगरमाथा चढ्ने र, विभिन्न  कीर्तिमान राख्ने क्रममा अनेकौं विकृतिहरू देखिन थालेपछि तत्कालीन श्री ५ को सरकारले १८ चैत २०५९ सालमा १६ वर्ष नपुगेकालाई नेपालबाट आरोहण गर्न नदिने नियम लागू गरेको छ । उता विश्वकै गौरवशाली आरोही मान्न सकिने पर्वतारोही आप्पा शेर्पा, जसले २१ औं पटक चोमोलुङमालाई चुमे, उनले  सगरमाथाको ८ हजार मिटरको  सेरोफेरोमा पानी बग्न थालेको बताएका थिए । हुन पनि विश्वमा ८ हजार  मिटरभन्दा अग्ला हिमालहरू २० वटा (६ वटा नयाँ ८ हजार माथिका हिमालहरू मान्यता पाउने क्रममा छन्) भए तापनि  सगरमाथामै किन पर्वतारोहीहरूको भीड लाग्छ त भन्ने प्रश्न पनि छँदै छ । सगरमाथाको प्रसिद्घिकै कारण त विश्वका धेरै देशहरूमा रहेका पर्वतारोहणका लागि खुलेका एजेन्सी वा एजेन्टहरूले पनि पैसा कमाउने राम्रो मौका  पाएका छन्  । उनीहरूले चोमोलुङमा अर्थात् सगरमाथा आरोहरण गर्न चाहनेहरूका लागि विज्ञापन गर्दा एक व्यक्तिको ६५ हजारदेखि ७० हजार अमेरिकी डलर खर्च लाग्ने र जसरी पनि सगरमाथा चढाएरै छाड्ने विज्ञापन गर्छन् । यसरी कसैका लागि कीर्तिमान राख्ने र, कसैका लागि कमाउने आधार पनि भएको छ सगरमाथा वा माउन्ट  एभरेस्ट । 

त्यसैले त सगरमाथाको शिरमा पनि भीडभाड हुन थालेको छ । तर, अब नेपाल सरकारले पैसाको मात्रै मुख हेरेर सगरमाथा चढ्न जसलाई पनि दिने हो भने यसको भविष्व लामो समयसम्म सुरक्षित हुन सक्ने देखिँदैन । त्यसैले यो वर्ष ६७ औं सगरमाथा दिवस मनाउँदै गर्दा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने भएको छ ।