काठमाडांै । पछिल्लो समय एकल महिलामा आत्म विश्वास र आत्म निर्भरता बढ्दै गएको छ । एकल महिला तथा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) की संस्थापक अध्यक्ष लीली थापा एकल महिलाहरू आत्मनिर्भर बन्दै गएकाले परिवर्तन देखिँदै गएको बताउँछिन् ।
सेतो रङले पटकपटक कमजोर महसुस गराउने भएकाले सेतोबाट मुक्त भएपछि आत्म विश्वास बढेको थापाको भनाइ छ । थापाले भन्छिन्, ‘विगत एकल महिलालाई नकरात्मक सोचले हेर्ने गरिन्थ्यो । परिवार र समाजले नै श्रीमान् टोकुवा, अलच्छिना आदि अपशब्दबाट लाञ्छना लगाउने गर्थे । अहिले तिनै एकल महिलाहरूले देश चलाइरहेका छन् । यो सबैभन्दा ठूलो परिवर्तन हो, बिगार्ने र सपार्ने समाजले नै हो ।’
काठमाडौं, लाजिम्पाटकी कुन्दा शर्मा बिहे भएको तीन वर्षमै विधवा भइन् । अकल्पनीय घटना घट्दा बेहोस भइन् तर समाजले लाञ्छना लगायो । तीस वर्षको उमेरमा बिहे भएको थियो । संस्थाकी उपाध्यक्षसमेत रहेकी शर्माले श्रीमान्को मृत्यु भएपछि दुई सन्तान भविष्यको चिन्तामा थिइन् ।
कास्कीकी प्रमिला तझ्य ३० वर्षकै उमेरमा विधवा भइन् । उनले भनिन्, ‘विधवा शब्दले पोल्थ्यो, सेतो सारीले कमजोर बनाउँथ्यो, एकल तथा विधवा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ,’ उनले भनिन् । बिहे भएको १० वर्षमै विधवा भएकी थिइन् । उनी ६ वर्ष विधवा भेषमा ६ बसिन् ।
‘कुनै शुभकार्यमा जान दिँदैन थिए । अशुभ हुन्छ भन्थे, त्यो परम्परा हटेको छ,’ प्रमिलाले भनिन्, ‘रङ परिवर्तन गरेपछि विधवामाथिको विभेद हट्दै गयो ।’ संस्थाको केन्द्रीय उपाध्यक्ष रहेकी बर्दियाकी शोभा केसी २१ वर्षकै उमेरमा विधवा भइन् । विधवाकै भेषमा दूधे बालक च्यापेर गोठमा बस्थिन् । एउटा रातो टीको लगाउन निषेध थियो ।
सीपमूलक तालिम लिएर आफूहरूलाई आत्मनिर्भर बनाइरहेका उनीहरू आफूहरूमा सबैभन्दा ठूलो परिवर्तन बेरङ दुनियाँबाट रंगीन दुनियाँमा परिवर्तन हो भन्छन् । सेतो सारीले बारम्बार आफ्नो पीडा बल्झाएको अनुभव उनीहरूको छ ।
यी एकल महिलाहरू बिहीबार राजधानीमा (डब्लुएचआर) द्वारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा भेटिएका हुन् । संस्थाले एकल महिलालाई विभिन्न सीपमूलक तालिमसँगै निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । हाल संस्थामा देशभरका ७७ वटा जिल्लाका २ हजार ५३० वडाका १ लाख एकल महिलाहरू आबद्ध रहेको जनाइएको छ ।




















