खुल्यो सगरमाथा आरोहण : मंगलबार ८ नेपाली चुचुरोमा

काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै मंगलबार यो वर्षकै पहिलोपटक आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । वसन्त ऋतु हिमाल आरोहणका लागि मुख्य सिजन मानिन्छ । मंगलबार ८ नेपाली आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । अपराहृन १ः४५ बजे नेपाली टोली सगरमाथाको चुचुरोमा पुगेर डोरी टाँगेसँगै यो सिजनका लागि सगरमाथा आरोहणको ढोका खुलेको छ ।

सिजनमा पहिलोपटक सगरमाथा आरोहण गर्नु निकै चुनौतीपूर्ण मानिन्छ । सिजनमा पहिलोपटक आरोहण गर्ने घरेलु टोलीले बाटो पहिल्याउनेदेखि लिएर आरोहण सुरक्षित तुल्याउन डोरी टाँग्नेसहितका काम गरेपछि अन्य आरोहीका लागि सहज हुने गर्दछ । सगरमाथा आरोहणका लागि अहिले मौसम पनि खुलेको जनाइएको छ । सिजनमा केही दिन मात्र आरोहणका लागि मौसम अनुकूल हुने गर्दछ । मौसमको अनुकूलतालाई हेरेर आधार शिविरबाट आरोहीलाई शिखरतर्फ पठाउने गरिन्छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार मंगलबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । गत वर्ष पनि वैशाख ३१ गतेदेखि नै सगरमाथा आरोहण सुरु भएको थियो ।

मंगलबार संखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूह सगरमाथाको चुचुरोमा पुग्दै डोरी टाँग्ने (रोप फिक्सिङ) काम गरेको थियो । सो टोलीमा पासदावा शेर्पा, दोजी ग्याल्जेन शेर्पा, दावा नोर्बु शेर्पा, मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् ।

उनीहरू ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेस्ट एक्सपिडिसन–२०१९’ बाट गएका हुन् । सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एसोसिएसनले गर्दै आएको छ । सगरमाथाको ‘शिविर २’ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले पाएको थियो । 

हाल सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएको विभागले जनाएको छ । ४१ समूहमध्ये ३५ विदेशी र ६ नेपाली आरोही समूह छन् । दोस्रो र तेस्रो शिविरमा दर्जनौं आरोही सगरमाथा जाने पालो कुरेर बसेका छन् । उनीहरू मौसम अनुकूल हेरेर बुधबारबाट अगाडि बढ्ने बताइएको छ ।

बिहीबारसम्म मौसम अनुकूल रहने भएकाले केही आरोही यसबीचमा सगरमाथाको चुचुरोमा पुग्ने प्रयत्न गर्ने आरोहण कम्पनीका एक सदस्य बताउँछन् । तेस्रो शिविरबाट माथि लागेपछि भने बाटो साँघुरो भएकाले एकसाथ धेरै आरोही पठाउने गरिँदैन । केही स्थानमा एकतर्फबाट हिँड्न मिल्ने बाटो भएकाले पनि चौथो शिविरमाथि धेरै आरोहीलाई एकसाथ पठाउन नमिल्ने ती सदस्यको भनाइ छ ।

दुई दिनपछि केही प्रतिकूल हुने मौसम आगामी साता अनुकूल हुने देखिएको पर्यटन विभाग सम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार बाँकी आरोही अर्को साता मात्रै सगरमाथाको चुचुरोतर्फ जानेछन् । प्रतिकूल मौसम हुँदा तीव्र गतिमा हावा चल्ने, हिमपात हुने गर्दछ । सामान्यतया, हावाको गति २० देखि ३० किलोमिटर प्रतिघण्टा हुने समय पारेर आरोहीहरू चुचुरोमा पुग्ने गर्दछन् । यस्तो मौका निकै कम मिल्ने भएकाले नै आरोहण दल अनुकूल मौसमको पर्खाइमा दोस्रो, तेस्रो शिविरमा बस्ने गर्दछ ।   

विभागका अनुसार यो सिजनमा सगरमाथासहितका हिमाल आरोहणका लागि कुल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही गन्तव्यतर्फ लागेको विभागले जनाएको छ । विभागका अनुसार यो सिजनमा हिमाल आरोहणबाट करिब ५० करोड रुपैयाँ सलामी दस्तुर जम्मा भएको छ । उक्त रकममध्ये ४३ करोड ८९ लाख २७ हजार रुपैयाँ सगरमाथा आरोहणबापत संकलित भएको छ ।