काठमाडौं । अभिनेत्री सुहाना थापाको जन्मदिनको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर ३’ले काठमाडांैको एक ५ स्टार होटलमा सक्सेस पाटी मनाएको छ । चलचित्रले झण्डै एक महिने प्रदर्शन तय गर्न सफल भएको छ । यो सिनेमा २०७५ साल चैत २९ सार्वजनिक प्रदर्शनमा भएको थियो ।
डेब्यु गर्ल सुहानाको २१औं जन्मदिनमा मनाइएको सक्सेस पाटीमा केही सिनेमाकर्मी, पत्रकार, नजिकका आफन्त र ‘ए मेरो हजुर ३’को टिमको उपस्थिति रहेको थियो ।
सांगीतक प्रेमकथामा आधारित चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रूपा घिसिङलगायत कलाकारको अभिनय छ ।
छोरी सुहाना जन्मिएपछि झरनाले होम प्रोडक्सनको चलचित्र ‘धर्म संकट’बाट लिड हिरोइनमा डेब्यु गरेकी थिइन् । त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले चलचित्र निर्माणको पनि २१ वर्ष पूरा गरेको छ । जुन चलचित्र सुनिलकुमारले निर्माण गरेका थिए । २१औं वर्ष लामो कार्यकालमा झरना र सुनिलले सुहाना जस्तो प्रतिभाशाली कलाकार चलचित्र क्षेत्रलाई दिएका छन् ।
‘छक्का पञ्जा ३’ पछि कुनै पनि चलचित्रले बक्सअपिसलाई उकास्न सकेको थिएन् । सुस्ताएको व्यापारलाई उकास्ने क्रममा चलचित्रले ५१ दिन मनाउने संकेत पनि देखाउँदै आएको छ । अब भने ‘ए मेरो हजुर ३’ले केही मल्टिप्लेक्स र सिंगल स्क्रिनमा पाँचौं साताको यात्रा तय गर्दैछ ।
झण्डै एक महिने लामो प्रदर्शनमा चलचित्रले बक्सअफिसमा ९.५ करोड नजिक व्यापार गरिसकेको छ । चलचित्रले १० करोडको व्यापार गर्ने अनुमान छ । साथै, ‘ए मेरो हजुर ३’ अनमोल, झरना र सुनिलकुमारको करिअरकै सर्वाधिक कमाउने चलचित्रको रूपमा खडा भएको छ ।




















