झापा । सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले मंगलबार सडकमा सुतेर ज्याला माग गरेका छन् ।
आन्दोलनको ३८औँ दिन चिया मजदूरले झापाको विर्तामोडस्थित मुक्तिचोकमा १२ देखि २ बजेसम्म सडकमा सुतेर ज्याला माग गरेका हुन् । आन्दोलनको कार्यक्रमअन्तर्गत झापा र इलामका करीब तीन हजार चिया मजदूरले न्यूनतम ज्यालाको माग गर्दै सडकमा सुतेर आन्दोलन गरेको अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताइन् ।
“आन्दोलनको आज ३८ दिन भइसक्यो, हाम्रो मागका बारेमा कहीँकतैबाट सुनुवाइ भएको छैन ।” माग पूरा नभएसम्म चिया मजदूरको आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले बताइन् ।
सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै गत चैत १७ देखि आन्दोलित बनेका चिया मजदूरको दैनिकी कष्टकर बन्दै गएको छ । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । आन्दोलन थालेयता मजदूरको दैनिकी कष्टकर बन्दै गएको बताए । सरकारको निर्णय कार्यान्वनका लागि एक महिनाअघिदेखि आन्दोलनरत चिया मजदूरको आन्दोलन अब सरकार केन्द्रित हुने उनले बताए । “हामीले ज्यालाका लागि व्यवसायी केन्द्रित आन्दोलन गरिरहेका छौँ”, उनले भने, “अब हाम्रो आन्दोलन सरकार केन्द्रित हुनेछ ।”
सरकारले नै तोकेको ज्याला पाउनका लागि चिया मजदूरले भोकभोकै कठोर आन्दोलन गरिरहेका छन् । “कि सरकारले मजदूरको आन्दोलन नाजायज छ भन्नुप¥यो, कि त आफूले गरेको निर्णय कार्यान्वयन गराउनु प¥यो”, मजदूर नेता तामाङले भने, “कि त सरकारको निर्णय नमान्नेलाई कारवाही हुनुप¥यो ।” झापाको राज टी स्टेट र ज्यामिरगढी टी स्टेटले सरकारले तोकेको ज्याला दिन थालेका छन् ।




















