आमाभित्र अपार हुन्छ महिमा, को पस्न सक्छ त्यहाँ
आमामै छ विशाल शक्ति अरुमा, खोजेर मिल्छ कहाँ ?
आँधी, हुरी, प्रचण्ड ताप, दुःखका, सागरहरू छन् जति
आफैँभित्र दबाउँछ्यौ तर पनि, रोकिन्न तिम्रो गति !
छैन केही कपट् निस्वार्थ मनले, स्नेह गर्छ्यौ तिमी
साना हुन् कि ठूला समान सबमा, बात्सल्य छर्छ्यौ तिमी
आमाभित्र छ खानी सर्वगुणको, विज्ञानको ज्ञानको
कोटि कोटि प्रणाम गर्नु सबले, आमारूपी शानको !
ताते–ताते गराई हात तिमीले, थाम्छ्यौ विवेकी बनी
शिक्षक हौ पहिलो सिकाइ कखरा, तोतेबोलीमै पनि
रक्षक हौ जननी छहारी मनको, ‘पीयूष’ हौ स्वादको
रश्मि हौ घरको प्रसाद जपको, आशा र विश्वासको !
नौ महिनाभरि गर्भ बोकी, सहजै पीडा सहन्छ्यौ कति
त्यही भार बिसाउँदा धरतीमा, प्रसन्न बन्छ्यौ अति
के गर्नु र बयान खै कलमले तिम्रो अथक कर्मको
कसले बुझ्छ होला र खै धरणीमा, तिम्रो पीडा मर्मको !!
शंखमूल, नयाँबानेश्वर, काठमाडौं




















