दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक मकालु एफसीले नै जित्यो।

जोहोरबारु (मलेसिया):= मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक टीम मकालु फुटबल क्लब (मकालु एफसी) जोहोर ले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता क्वालालम्पुरको हिमालयन एफसीलाई १–० ले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो।

केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा मकालु एफसीका मदन मगरले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि हिमालयन एफसीले खेलमा फर्किन निरन्तर प्रयास गरे पनि मकालुको सशक्त रक्षापंक्तिले हिमालयनका आक्रमणलाई विफल पार्दै अग्रता जोगायो।

निर्धारित समयको खेल सकिँदासम्म थप गोल हुन नसकेपछि मकालु एफसीले १–० को जित निकाल्दै दोस्रो मकालु गोल्डकपको च्याम्पियन बन्न सफल भयो। फाइनलमा निर्णायक गोल गरेका मदन मगर फाइनलका उत्कृष्ट खेलाडी घोषित भए।

द्विदिवसीय नकआउट प्रतियोगितामा मलेसियाका विभिन्न स्थानबाट १६ टोलीको सहभागिता रहेको थियो। अगस्ट ३० मा उद्घाटन भएको प्रतियोगिता अगस्ट ३१ मा फाइनलसँगै भव्य रूपमा सम्पन्न भएको हो। उपाधिसँगै मकालु एफसीले १५ हजार १ मलेसियन रिंगेट पुरस्कार प्राप्त गरेको छ भने उपविजेता हिमालयन एफसीले ७ हजार ५ सय १ रिंगेट हात पारेको छ।

व्यक्तिगत विधामा मकालुको दबदबा

प्रतियोगिताका व्यक्तिगत विधातर्फ पनि मकालु एफसीका खेलाडीहरूको प्रभावशाली प्रदर्शन रह्यो।

  • उत्कृष्ट गोलरक्षक: प्रविन जिमी — मकालु एफसी
  • उत्कृष्ट रक्षक: बृजेश चौधरी — मकालु एफसी
  • उत्कृष्ट मध्यपंक्तिका खेलाडी: अजित चौधरी — हिमालयन एफसी
  • सर्वोत्कृष्ट खेलाडी: आशालाल कुमाल — मकालु एफसी
  • सर्वाधिक गोलकर्ता: बिमल वि.क. — मकालु एफसी (७ गोल)
  • फाइनलका उत्कृष्ट खेलाडी: मदन मगर — मकालु एफसी

जोहोरबारुको केम्पा अवाना रंगशालामा सम्पन्न दोस्रो मकालु गोल्डकपले मलेसियामा रहेका नेपाली फुटबलप्रेमी, खेलाडी तथा नेपाली समुदायबीच थप उत्साह र एकताको वातावरण सिर्जना गरेको छ। आयोजक मकालु एफसीको उपाधि यात्राले नेपाली डायस्पोरामा फुटबलप्रतिको बढ्दो आकर्षणलाई समेत थप उजागर गरेको छ।